विराटनगर । बीमाको दाबी भुक्तानी प्रक्रियालाई व्यवस्थित र सहज बनाउने विषयमा सरोकारवालाहरूबीच विराटनगरमा छलफल गरिएको छ ।
सोमबार विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित छलफलमा मेयर नागेश कोइरालाले विदेशको जस्तै नेपालमा पनि दाबी भुक्तानी सहज हुने गरी आवश्यक व्यवस्था गर्न आग्रह गरे । उनले विदेशमा मोटर बीमामा दाबी भुक्तानी प्रदान गर्ने समयसम्म कम्पनीले नै सवारी सुविधासमेत उपलब्ध गराउने गरेको बताए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमालाई व्यवस्थित गर्न प्राधिकरणले स्थानीय सरकारसँग निरन्तर समन्वय गर्न तयार रहेको बताए । उनले बीमालाई व्यवस्थित गर्न नीति नियम तथा विभिन्न योजनाहरू तयार गरेको जानकारी दिए । उनले सवै पालिकाहरूले आफ्नो भवनबाट बीमा गर्न थालनी गर्न र बीमा गर्न प्रेरित गर्न आग्रह गरे । उनले विदेशमा जस्तै नेपालमा पनि जोखिमको भार बीमा कम्पनीमा प्रदान गर्नुपर्ने बताए ।
विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले अनावश्यक दावी भुक्तानीका लागि सिफारिस गर्न लाउने गरेको भन्दै त्यस्तो व्यवस्थालाई परिमार्जन गर्नुपर्ने सुझाव दिए । उनले कमभन्दा कम कागजातबाट दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न माग गरे ।
सहभागीहरूले बीमा समर्पण गर्ने समय, कोरोना बीमा, स्वास्थ्य बीमा दाबी भुक्तानीलगायताका विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा बजार तथा कानूनी व्यवस्थाबारे जानकारी गराएको प्राधिकरणका कोशी प्रदेश कार्यालयका प्रमुख विनोदकुमार पोखरेलले जानकारी दिए ।
छलफल कार्यक्रममा महानगरपालिकाका वडाध्यक्ष, कार्यपालिकाका सदस्य, बीमक कम्पनी तथा कर्मचारीसहितको सहभागिता रहेको थियो ।
View : 132
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved