Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

पाख्रीबासमा न्यूरोको स्वास्थ्य शिविर, पाँच सय बढीको स्वास्थ्य जाँच

उद्‌घोष संवाददाता
२८ पुष २०८२, सोमवार

विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिकाको आयोजना र विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलको प्राविधिक सहयोगमा शनिबार  धनकुटाको पाख्रीबासस्थित सयपत्री बोर्डिङ स्कूलमा एक दिवसीय ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ सम्पन्न भएको छ । 

सो शिविरबाट ५०० जना भन्दाबढी स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

नगरपालिकाका नागरिकहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै दैलोमा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविरमा न्यूरो हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, वरिष्ठ अर्थोपेडिक सर्जन प्राडा नवीनकुमार कर्ण, हस्पिटलकी कार्यकारी निर्देशक डा. अनिशा विष्ट र अपरेशनल डाइरेक्टर राजेश भट्टराईको उपस्थिति रहेको थियो । 

कार्यक्रममा पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, उपप्रमुख, नगरपालिकाका कर्मचारीहरूका साथै स्थानीय बासिन्दाहरूको ठूलो संख्यामा सहभागिता थियो ।

शिविरको विशेष अवसरमा पाख्रीबास नगरपालिका र न्यूरो हस्पिटलबीच एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । 

सम्झौता अनुसार अब पाख्रीबास नगरपालिकाका नागरिकहरूले विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट र सहुलियत प्राप्त गर्नेछन् । यसले गर्दा आगामी दिनमा विपन्न तथा न्यून आय भएका नागरिकहरूका लागि विशेषज्ञ उपचार थप सहज र सुलभ हुने विश्वास गरिएको छ ।

अस्पताल प्रशासनका अनुसार यस बृहत् हेल्थ क्याम्पमा वरिष्ठ फिजिसियन, बाथ रोग तथा संक्रामक रोग विशेषज्ञ डा. विवेक कट्टेल, वरिष्ठ नसा रोग विशेषज्ञ डा. सुनन्द पौडेल, वरिष्ठ न्युरो सर्जन डा. रोशन खतिवडा, वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद शाह, वरिष्ठ विशेषज्ञ नाक, कान तथा घाँटी रोगसर्जन डा. रोशन आचार्य, वरिष्ठ स्त्री, प्रसूति तथा निःसन्तानपन विशेषज्ञ डा. निशा अधिकारी, छालारोग, यौनरोग तथा कुष्ठरोग विशेषज्ञ डा. रिचा शर्मा, दन्त रोग विशेषज्ञ डा. अमितप्रताप शाह, मुख तथा बंगारा रोग विशेषज्ञ डा. जितेन्द्र मण्डल, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. गौरव क्षेत्रीसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । 

शिविरमा पाख्रीबास नगरपालिका मात्र नभई छिमेकी नगरपालिका, गाउँपालिका तथा आसपासका जिल्लाहरूबाट समेत बिरामीहरू उपचारका लागि आएका थिए । 

शिविरमा विशेषज्ञ परामर्शका साथै अस्पतालको तर्फबाट बिरामीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । 

प्राविधिक परीक्षणतर्फ अस्पतालले अत्याधुनिक मेसिनहरूको प्रयोग गरी १२० भन्दाबढीको भिडियो एक्सरे, ३०० भन्दाबढीको  सुगर जाँच, १०० भन्दाबढीको मुटुको जाँच, ५० जना भन्दाबढीको दाँतको एक्सरेर ३८ जना भन्दा बढीको हड्डीको घनत्व जाँच सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरेको थियो ।

View : 243

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved