Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

विराटनगरमा देवकोटा जयन्तीको भव्यता

महाकविको उचाइमा कोही पुग्न सकेनन्

राजवंशी पुस्तकालयद्वारा माल्यार्पण,   छन्दवाटिकाद्वारा रचना वाचन र दुई दर्जन बढी स्रष्टाले गरे सिर्जना प्रस्तुत
उद्‌घोष संवाददाता
२७ कार्तिक २०८२, बिहिवार

विराटनगर। नेपाली साहित्यका युगपुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती बिहीबार विराटनगरमा विविध साहित्यिक अनुष्ठानका साथ भव्य रूपमा मनाइएको छ। कात्तिक २७ गते लक्ष्मीपूजाको दिन पर्ने महाकविको जन्मजयन्तीको अवसरमा स्रष्टा तथा साहित्य अनुरागीहरूले उनको योगदानको स्मरण गरे।

देवकोटा विसाइँबारीमा माल्यार्पण

विराटनगर–१२, पाञ्चालीमोडस्थित देवकोटा विसाइँबारीमा रहेको महाकविको शालिकमा माल्यार्पण गरी कार्यक्रमको सुरुवात गरिएको थियो। विराट राजवंशी साङ्गीतिक पुस्तकालयका अध्यक्ष कुशेश्वर राजवंशी र सल्लाहकार रामसुन्दर राजवंशीले संयुक्त रूपमा माल्यार्पण गरे। विराटनगरको पहिलो जातिको रूपमा चिनिएको विराट राजवंशीको नाममा यो पुस्तकालय २०७६ सालमा स्थापना भएको थियो। 

छन्द र परिचर्चा

छन्दवाटिका विराटनगरको आयोजनामा देवकोटा विसाइँबारीमै रचना वाचन तथा परिचर्चाका साथ महाकविको शालिकमा माल्यार्पण गरी कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा उपस्थित प्राध्यापक कविराज न्यौपाने र डा हरिहर भण्डारीले महाकवि देवकोटाका विषयमा गहन परिचर्चा गरे। उनीहरूले धाराप्रवाह कविता वाचन गर्ने क्षमता भएका महाकविको उचाइमा अहिलेसम्म कुनै पनि साहित्यकार पुग्न नसकेको दाबी गरे ।

प्राज्ञ विवश पोखरेलको उपस्थिति आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार गंगा सुवेदी, खेम नेपाली, प्राडा मेदिनीप्रसाद शर्मा नेपाल, डा देवी पन्थी, कवि निर्मला कोइरालालगायतले देवकोटाको भाषा र साहित्य क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको चर्चा गरे।

छन्दवाटिकाका अध्यक्ष हरि कट्टेलको अध्यक्षतामा भएको सो समारोहमा विराटनगर तथा आसपासका दुई दर्जनभन्दा बढी स्रष्टाहरूले महाकवि देवकोटासँग सम्बन्धित कविता, मुक्तक तथा गजल वाचन गरेर श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रममा राधिका गुरागाईं, लक्ष्मण नेवटिया, शिवनारायण पण्डित सिंगल, बाबुराम पोखरेल, रोहिणी रसिक, सुजाता राई, शारदा भट्टराई, शैलेस घिमिरे, प्रिन्स प्रमोद ढकाल लगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

छन्दवाटिकाले महाकविको जन्मजयन्तीलाई आधार मानेर हरेक वर्ष कात्तिक २७ गते विशेष समारोह आयोजना गर्दै आएको छ।

View : 776

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved