सुनसरी । सुनसरीका छुट्टाछुट्टै स्थानबाट सशस्त्र र नेपाल प्रहरीको टोलीले सोमबार लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
सोमबार मध्यराति सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित नडाहा–धरान सडक खण्डमा सशस्त्र प्रहरी बल सुरक्षा वेस चतराका सशस्त्र प्रहरी निरीक्षक दिपक नापित र प्रहरी चौकी नडाहाका प्रहरी सहायक निरीक्षक जीवनारायण भट्टको कमाण्डमा संयुक्त रुपमा खटिएको सुरक्षाकर्मीको टोलीले बा १८ च ३८३४ नम्वरको कारलाई शंका लागि चेकजाँच गर्दा १३० किलो गाँजा बरामद गरेको हो ।
कारभित्रबाट विराटनगर महानगरपालिका–५ का २१ वर्षीय सचिन मेहता र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकली बस्ने २३ वर्षीय करण साहलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
कारभित्र चेकजाँच गर्दा कालो प्लाष्टिकले बेरेर डिकीभित्र लुकाइराखेको अवस्थामा पाँचवटा पोका भेटिएपछि प्रहरीले अनुसन्धान गर्दा गाँजा भएको फेला पारेको हो । उनीहरूमाथि सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले आवश्यक अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका–१६ बाट सोही स्थानका २९ वर्षीय विष्णु सुब्बालाई पक्राउ गरेको छ ।
प्रहरीले उनको साथबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल ५२५ क्याप्सुल र डिक्लोमाईन ५२५ ट्याब्लेट बरामद गरेको जनाइएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।
View : 242
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved