Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बाँस्कोटाको संयोजकत्वमा मानवअधिकार रक्षक संजाल गठन

उद्‌घोष संवाददाता
३ मंसिर २०८२, बुधवार

विराटनगर । कोशी प्रदेशस्तरीय मानवअधिकार रक्षक सञ्जालको संयोजकमा अधिकारकर्मी देवीप्रसाद बाँस्कोटा चयन भएका छन् । बाँस्कोटाको संयोजकत्वमा २१ सदस्यीय सञ्जाल गठन भएको हो ।

महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा सा“स्कृतिक अधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य र वातावरणको अधिकार सवालमा पैरवी गर्न सञ्जाल गठन गरिएको हो । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा विभिन्न क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरूको भेलाबाट सञ्जाल गठन भएको जनाइएको छ ।

सञ्जालको सदस्यहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यबाट दुर्गा माझी र माही खान, दलित समुदायबाट राधा पासवान, शर्मिला परियार र प्रकाश परियार, पत्रकारबाट बाबुराम भण्डारी, अधिकारकर्मी लिलाप्रसाद निरौला, अधिवक्ताहरु कला त्रिताल र सीता पौडेल, शिक्षकबाट खेमराज पोखरेल र जहागिर आलम  चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमै बाल क्लवबाट अमितकुमार मण्डल र सानीया खातुन, इन्सेक पूर्व सहजकर्ता दिपेन्द्र झा र जयकृष्ण यादव, अपाङ्गता क्षेत्रबाट गोपालमान थापा, अनिमेश आर्चाय र आकृति रानी फुयल, वातावरण अभियन्ता मोहम्द सलमान,  मानव अधिकार निगरानी समूहका पूर्व अध्यक्ष तेजेन्द्र भण्डारी सर्वसम्मत चयन भएका हुन् । 

राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरकी निमित्त प्रमुख तुलसा कार्कीले सञ्जालका माध्यमबाट नेपालले अनुमोदन गरेका मानवअधिकारका नौ वटा ठूला महासन्धीमा भएका व्यवस्थालाई मानवअधिकारको अंगका रुपमा सुुनिश्चित गर्ने गरी अभियान चलाउन आग्रह गरिन् । उनले मानवअधिकार संरक्षणका लागि सबै सरोकारवालासँग सहकार्य गरेर जान आयोग तयार रहेको बताइन् ।

संयोजक बाँस्कोटाले मानवअधिकार संरक्षणका साना सवालहरू समेत महत्वपूर्ण हुने भन्दै सञ्जालले आगामी दिनमा सरोकारवालाहरूसँग विभिन्न प्रकारले छलफल गर्ने बताए । सञ्जालका माध्यमबाट प्रदेश र स्थानीय सरकारलाई अझ जवाफदेही बनाउन पनि भूमिका निर्वाह गर्ने बताए । 

भेलाका अवसरमा इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले सञ्जालले मानवअधिकार उल्लङ्घनविरुद्ध पैरवी, मौलिक हकहरूको प्रत्याभूतिका क्षेत्रमा क्रियाशील हुने बताए । 

भेलाका अवसरमा अधिकारकर्मी प्रभा अधिकारी, सञ्चारकर्मी यज्ञ शर्मा लगायतले सञ्जालको सक्रियताका लागि शुभकामना दिएका थिए ।

View : 277

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved