Biratnagar, Morang, Nepal
१७ असार २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङबाट ४ जीपीए ल्याउने यी हुन् आठ विद्यार्थी, विराटनगरको एभरेष्ट स्कुलका तीन जनाले ल्याए ४ जीपीए

उद्घोष सम्वाददाता
१३ असार २०८१, बिहिवार

विराटनगर । एसइई परीक्षा २०८० को नतिजा सार्वजनिक भएसँगै मोरङ जिल्लाबाट आठ जना विद्यार्थीहरूले सर्वोत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् । सबैभन्दा बढि विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलबाट तीन जनाले ४ जीपीए ल्याएका हुन् । तीनजनाले जीपीए ४ ल्याएसँगै विद्यालयले कोशी प्रदेशकै उत्कृष्ट भएको दाबी गरेको छ । 

एभरेष्टबाट २०८० को एसइई परीक्षामा २१२ जनाले परीक्षा दिएका थिए । ती मध्ये कृतज्ञ दाहाल, राजु कुमार साह र सुब्रत बरालले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ । 

त्यसैगरी जिपिए ४ ल्याउनेमा पथरीशनिश्चरेस्थित रेडस्टार बोर्डिङ स्कुलका दुईजनाले ४ जीपीए ल्याएर उत्तीर्ण भएका छन् । अजय लिम्बू र सतिश आचार्यले ४ जीपीए ल्याएको जनाइएको छ ।

उर्लाबारीस्थित पशुपति आवासीय माविकी अन्वेशा बस्नेत, विराटनगरको बुढानीलकण्ठ माविकी सिरेन भट्टराई र सगरमाथा बोर्डिङ स्कुलकी प्रतिभा रौनियारले पनि ४ जीपीएसहित उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

संस्थागततर्फ एभरेष्ट उत्कृष्ट

एभरेष्ट बोर्डिङ स्कुलबाट ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन् । ३.२१ देखि ३.६ सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको छ ।

यो नतिजाको आधारमा एभरेष्ट स्कुल कोशी प्रदेशकै उत्कृष्ट रहेको सहायक प्रधानाध्यापक टिएन भण्डारीले बताए । उनले बाँकी ८ जनाले पनि २.८१ देखि ३.२ सम्म जिपिए प्राप्त गर्दै शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए ।

प्रत्येक वर्षको नतिजाका आधारमा एभरेष्ट स्कुल देशकै अब्बल शिक्षण संस्थाका रुपमा स्थापित भएको एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले बताए । उनले विद्यालयको भौतिक पूर्वाधारको विकाससँगै अत्याधुनिक शिक्षण पद्धति र नविन शैक्षिक प्रयोगका कारण हरेक वर्षको नतिजा उत्कृष्ट बन्दै गएको बताए । 

शैक्षिक गुणस्तर वृद्धिका लागि गरेका अभ्यास, विभिन्न क्षेत्रसँगको सहकार्यको परिणामस्वरूप यस वर्ष अझ उत्कृष्ट नतिजा प्राप्त भएको दाबी गरे । 

‘आगामी वर्ष क्रमशः थप राम्रो बन्दै जान्छ’ उनले भने, ‘यस्तो नतिजा शैक्षिक मात्र नभई सबै क्षेत्रमा आउँछ, आउनुपर्छ ।’

एभरेष्टले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न विषयगत विज्ञहरू मार्फत शैक्षिक गतिविधिलाई अघि बढाउँदै आएको छ । एभरेष्टले ललितपुरको रातो बंगला फाउण्डेसन, कारखाना र बेलायतको डीजी स्कुलसँग शैक्षिक गतिविधिमा लगातार सहकार्य गर्दै आएको छ । 

साथै भारतको नयाँ दिल्लीमा सफल प्रयोग भइसकेको ह्याप्पिनेस करिकुलमका कारण विद्यार्थीको आत्मसम्मान बढाउन सघाउ पुग्ने जनाइएको छ ।

‘हामीले देखेको सपना र गरेको लगानीलाई अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीले गरेको मेहनतको प्रतिफल हो’ प्रिन्सिपल पुरीले भने, ‘सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्दै एभरेष्ट विश्वस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको रुपमा स्थापित हुने लक्ष्य लिएको छ ।’

उनले कोशी प्रदेशको राजधानी विराटनगरमै रहेर अन्तर्राष्ट्रियस्तरको शिक्षण संस्थाका रुपमा एभरेष्ट बोर्डिङ स्कुललाई स्थापित गराउन लागिपरेको बताए । एभरेष्ट स्कुलले अघिल्ला वर्षहरूमा समेत एसइईको उत्कृष्ट नतिजा ल्याएका कारण राष्ट्रिय तथा क्षेत्रीय पुरस्कारहरू प्राप्त गरिसकेको जनाइएको छ ।

View : 13047

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved