Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

भोजपुर बोया सेवा समाजद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

उद्‌घोष संवाददाता
१० असार २०८३, बुधवार

Advertisement

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नं १३ र १४ (बोया) का बासिन्दाहरूबीच भाइचारा र सामाजिक एकताको सेतु बनेको 'भोजपुर बोया सेवा समाज, काठमाडौँ'ले  एसईई उत्तीर्ण विद्यार्थीहरूलाई पुरस्कृत तथा सम्मानित गरेको छ।

गत बिहीबार (असार ४ गते) आयोजित एक विशेष कार्यक्रमका बीच समाजले यस वर्ष महेन्द्रोदय माविबाट एसईई उत्तीर्ण ८ जना विद्यार्थीहरुमा उत्कृष्टलाई  नगद र अन्यलाई प्रश‌ंसापत्रद्वारा सम्मान गरेको हो।

 

सम्मानित हुने विद्यार्थीहरूमा आशिका तामाङ, मनिका श्रेष्ठ, खोमिक्षा श्रेष्ठ, करण श्रेष्ठ, हिमा डोल्मा तामाङ, एलिसा तामाङ, सदिक्षा राई, गङ्गादेवी श्रेष्ठ छन् । सबैभन्दा बढी जीपीए ल्याउने आशिका तामाङलाई नगद पाँच हजारसहित सम्मान गरिएको हो । 

उक्त कार्यक्रममा समाजका सचिव कमलहरि खतिवडा र सदस्य वलबहादुर श्रेष्ठले विद्यार्थीहरूलाई प्रोत्साहन पुरस्कार हस्तान्तरण गरे । 

समाजले आफ्नो स्थापनाकालदेखि नै सामाजिक र परोपकारी गतिविधिहरूलाई निरन्तरता दिँदै यस वर्ष पनि साे सम्मान गरेकाे हाे । 

 

सांस्कृतिक र सामाजिक एकताको संगम

वि.सं. २०६३ मा स्थापना भएको यो संस्थाले काठमाडौँमा रहेका बोयालीहरूलाई एकताबद्ध गर्दै जन्मथलोको विकास र शिक्षामा हातेमालो गर्दै आएको छ।

विगतमा महेन्द्रोदय माविमा पुस्तकालय स्थापना, विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, तत्कालीन प्रधानाध्यापक नन्दप्रसाद काफ्लेको अभिनन्दनदेखि चाडपर्वमा शुभकामना आदानप्रदान र देउसीभैली जस्ता सांस्कृतिक कार्यक्रममा समाजले सक्रिय भूमिका खेल्दै आएको छ।

त्यस्तै, दुःख-सुखमा साथ दिँदै बिरामी र विपद्को समयमा पनि समाजले अग्रपंक्तिमा रहेर सहानुभूति र सहयोग प्रदान गर्दै आएको छ।

षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय विकास र शिक्षाको क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख उदासले बोया सेवा समाजले आफ्नो जन्मभूमिप्रतिको दायित्व निर्वाह गर्दै विद्यार्थीहरूमाझ छरेको हौसलाको प्रशंसा गरे ।

 

सो अवसरमा  षडानन्द - १३ का वडाध्यक्ष पदमबहादुर तामाङ, पूर्व अध्यक्ष इन्द्रकुमार श्रेष्ठ, १४ का वडाध्यक्ष झम्कबहादुर रोका, वातावरण पत्रकार दिलीप काफ्ले, महेन्द्रोदय माविका प्रअ टेकबहादुर चौहान, बिहीबारे आधारभूत विद्यालयका प्रअ गणेश श्रेष्ठ, सिंहदेवी आधारभूत विद्यालय नाङ्खिलाका प्रअ हरि चौहान, देवधरा खतिवडा स्मृति सांस्कृतिक एवम् सामाजिक सम्मान समितिका अध्यक्ष रामहरि खतिवडा र सदस्य शिवहरि खतिवडा लगायतको उपस्थिति थियो।

साथै, महेन्द्रोदय माविका पूर्व प्रअ नूतन पराजुली, विव्यस अध्यक्ष मानबहादुर तामाङ, डा. श्रीष खतिवडा र आईटी विज्ञ प्रसन्न घिमिरे लगायतले विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका  थिए ।

हरिकुमार राईको अध्यक्षतामा सञ्चालित साे संस्थाले शिक्षा र समाजसेवामा पुर्‍याएको योगदानले काठमाडौँमा रहेका बोयालीहरूमा नयाँ ऊर्जा थपेको छ।

View : 394

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved