Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

विराटनगरमा कोइराला पक्षको भेला आज, केन्द्रद्वारा वैधानिकता अस्वीकार

उद्‌घोष सम्वाददाता
१८ मंसिर २०८१, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले  सोमबार कोशी प्रदेश समितिलाई पत्र पठाउँदै डा शेखर कोइराला समूहको समानान्तर भेलामा सहभागी नहुन जिल्लाहरुमा पत्राचार गर्न निर्देशन दिएको छ । कोइराला पक्षले मंगलबार विराटनगरमा प्रदेशभरीका पालिका सभापतिहरुको भेला गर्दैछ ।

कोइराला समूहको भेलाको अघिल्लो दिन कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रदेश समितिलाई पत्र पठाउँदै ‘नेपाली कांग्रेसको वैधानिक प्रावधान अनुरुप सबै तहको सम्मेलन गर्ने प्रक्रिया प्रारम्भ भएको’ र सोही अनुसार मंसिर २२ मा प्रदेश सम्मेलन आयोजना गरिएको बताउँदै त्यसपूर्व पार्टीको कुनै कार्यक्रम नरहेको जानकारी जिल्लाहरुमा दिन पत्रमा उल्लेख छ ।

‘पार्टीको जुन तहको कार्यसमिति हो त्यसले त्यही तहभित्रकै कार्यक्रम आयोजना, समन्वय र नेतृत्व गर्ने वैधानिक व्यवस्था रहेको छ । 

यसक्रममा कोशी प्रदेशको सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने गरी प्रदेश समितिको आयोजनामा कार्यक्रम निर्धारित छ’, पत्रमा भनिएको छ ‘मसिर २२ पूर्व कोशी प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला भनी प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने–नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले, मसिर २२ मा हुने सम्मेलनपूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराइन्छ । यस सम्बन्धमा प्रदेशअन्तर्गत रहेका सम्पूर्ण पालिकाहरूलाई आवश्यक जानकारी गराई दिन हुन समेत निर्देशानुसार अनुरोध छ ।’

कोशीमा प्रदेश समितिले मंसिर २२ मा प्रथम प्रदेश सम्मेलन आयोजना गर्दैछ । त्यसअघि नै  डा शेखर कोइराला पक्षले मंगलबार विराटनगरको जैन भवनमा भेला गर्दैछ । त्यसलाई पार्टी केन्द्रले वैधानिक भेला मान्न अस्वीकार गरेको छ ।

देशभरका ६ वटै महानगरसहित कोशी प्रदेशका १३७ पालिका सभापतिहरुको भेलाको संयोजन गरिरहेका विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले केन्द्रको चिट्ठीले भेला नरोकिने बताए । 

उनले भने ‘हामीले सबै तयारी सकेका छौं । विभिन्न जिल्लाका पालिका र महानगर सभापतिहरु सोमबार नै विराटनगर आइसक्नु भएको छ, नजिकका सभापतिहरु मंगलबार आइपुग्नु हुन्छ ।’

View : 127

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved