विराटनगर । दुई दिनको साप्ताहिक बिदाले पाठ्यक्रम पूरा गर्न समस्या पर्ने निष्कर्षसहित खोटेहाङ गाउँपालिकाले अब आइतबार पनि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।
गाउँ शिक्षा समितिको निर्णयअनुसार आगामी वैशाख १३ गतेदेखि आइतबार समेत कक्षा सञ्चालन गरिनेछ ।
संघीय स्तरबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि स्थानीय तहमा शैक्षिक सत्रको समय व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले चैत २६ गते जारी गरेको निर्देशनमा २०८३ को शैक्षिक सत्र वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि पठन–पाठन सुरु गर्न भनिएको थियो ।
तर खोटेहाङमा भने उक्त तालिकाले तोकिएको पाठ्यभार समेट्न नसक्ने देखिएपछि स्थानीय तहले समय तालिका पुनः मिलाएको हो ।
शिक्षा संयोजक तथा वडा नं. ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईका अनुसार वैशाख १० गतेसम्म भर्ना प्रक्रिया चल्नेछ भने १३ गतेदेखि नियमित पठन–पाठन सुरु हुनेछ, जसमा आइतबार पनि कक्षा सञ्चालन हुनेछ ।
स्थानीय सरकारले यो निर्णयले विद्यार्थीको सिकाइमा अवरोध नआउने र शैक्षिक गुणस्तर कायम राख्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।
View : 105
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved