Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

नेपालमै पहिलो पटक अग्रभागवत कथा बाचन हुने

उद्‌घोष सम्वाददाता
९ पुष २०८१, मङ्गलवार

विराटनगर । अग्रवाल समुदायले नेपालमै पहिलो पटक आफ्नो जातिको उत्पत्तिबारे उल्लेख भएको ग्रन्थ ‘अग्रभावगत’ को कथा बाचन कार्यक्रम गर्ने भएका छन् । 

नेपाल अग्रवाल महिला मञ्चको नेतृत्वमा पुस ११ देखि १३ गतेसम्म अग्रभागवत कथा वाचन गरिने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । 

मञ्चकी अध्यक्ष उमा चौधरीले विराटनगरस्थित सिटी प्यालेसमा अग्रभागवत कथा वाचन हुने जानकारी दिइन् । 

त्रेता युगका भगवान श्रीरामको ३५औं पुस्ता प्रारम्भ भएर द्वापर युगको अन्त्यतिर जन्मिएका अग्रसेन महाराजको कथा अग्रभावगतमा समेटिएको जनाइएको छ ।

उक्त कथालाई कथावाचक उज्ज्वल जी गर्गले वाचन गर्ने नेपाल अग्रवाल सभाका अध्यक्ष राजकुमार अग्रवालले बताए ।

कथा वाचन कार्यक्रममा नेपाल अग्रवाल युवा मञ्च र अग्रवाल कन्या मञ्च लगायतका संस्थाहरूको समेत सहभागीतामा भव्य रूपमा सम्पन्न गर्ने जनाइएको छ । 

अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवाल, अग्रवाल कन्या मञ्चकी मनिषा अग्रवाल लगायतले आफ्नो जातीय उत्पत्तिबारे अग्रवाल समुदायका युवापुस्तालाई जानकारी गराउने महत्वपूर्ण अवसरका रूपमा कथा वाचन कार्यक्रम आयोजना गरिएको बताए ।

अग्रवाल सभाका अनुसार विराटनगरमा मात्रै पाँच हजार बढी अग्रवाल छन् । कथा बाचन कार्यक्रममा विराटनगरबाहेक मुलुकका विभिन्न भागमा बसोबास गर्ने तथा छिमेकी भारतबाट समेत अग्रवाल समुदायका मानिसहरू सहभागी हुने जनाइएको छ । 

कथा बाचन कार्यक्रमले अग्रवाल समुदायको सभ्यता र संस्कृति जगेर्ना गर्न समेत महत्वपूर्ण अवसर बन्ने अग्रवाल महिला मञ्चकी अध्यक्ष चौधरीले बताइन् । 

कथा बाचन कार्यक्रमको प्रचार प्रसार गर्न बिहीबार विराटनगरस्थित सत्यनारायण मन्दिरबाट धार्मिक र्याली निकालिने मञ्चकी सचिव बबिता अग्रवालले जानकारी दिइन् ।

View : 84

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved