Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एसईई नतिजा

मोरङका ३४ विद्यालयका सबै विद्यार्थी ‘नट ग्रेडेड’

विराटनगरकै दुई बोर्डिङ स्कुलको नतिजा शून्य
उद्घोष सम्वाददाता
१६ असार २०८१, आइतवार

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा मोरङका ३४ वटा विद्यालयका सबै परीक्षार्थीहरुको नतिजा ‘एनजी’ अर्थात् नट ग्रेडेड आएको छ । नतिजा ‘एनजी’ आउने विद्यालयहरुमा दुई वटा संस्थागत, दुई धार्मिक र बाँकी ३० वटा सामुदायिक विद्यालय छन् ।

एनजी आउने दुई संस्थागत विद्यालय विराटनगर महानगरपालिकाभित्रकै हुन् । संस्थागत विद्यालयहरु मध्ये विराटनगरकै विराट भिक्टोरिया मेमोरियल स्कुल र ग्रीन नर्थ प्वाइन्ट सेकेन्डरी इङ्लिस स्कुलबाट विद्यार्थीहरु एसईई उत्तीर्ण हुन सकेनन् । सामुदायिकतर्फ ग्रामथानका पाँच विद्यालयका सबै विद्यार्थीको एनजी आएको हो ।

पब्लिक मावि धनिबनिगाउँ, वाणी मावि सिद्राहा, महेन्द्र मावि मोतीपुर, वीरेन्द्र मावि झोराहाट र गणेश मावि धोबियारे बनिगामाका कुनै पनि विद्यार्थीले १.६ ग्रेडमाथि अंक कटाउन नसकेका कारण नट ग्रेडेडमा परेका हुन् ।

उर्लाबारीको राधिका मावि, कानेपोखरीको बाल मावि हरकपुर बयनवन, केराबारीको सार्वजनिक मावि पाटी, रामपुर मावि भोगटेनी, जनकल्याण मावि केराबारीमा पनि एसइई परीक्षामा सहभागी भएका सबै विद्यार्थी नेट ग्रेडेट भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका अनुसार जहदाको बुद्धोदय मावि बुधनगर र सार्वजनिक मावि शिशवनी जहदा, बुढीगंगा गाउँपालिकाको नारायण मावि डंग्राहा र जनप्रिय मावि टंकसिनवारी, रंगेली नगरपालिकाको महालक्ष्मी मावि दर्वेशा र जनता मावि आमतोलाका सबै विद्यार्थी नट ग्रेडेडमा परेका छन् ।

त्यसैगरी लेटाङ नगरपालिकास्थित साग्मा मावि भोगटेनी, भोगटेनी मावि भोगटेनी र लक्ष्मी मावि वारङ्गी, विराटनगर महानगरपालिकास्थित जनता नमूना मावि शंकरपुर, विराट महेन्द्र रात्रि मावि विराटनगर, बाल मावि जतुवा, शिक्षा सदन मावि विराटनगर, जनता मावि विराटनगर र सार्वजनिक मावि बैजनाथपुर पनि नट ग्रेडेडभित्र परेका छन् ।

सामुदायिक धार्मिक विद्यालयहरुतर्फ गायत्री संस्कृत मावि, जामिया इसरमिया मावि र मदरसा तालिमुला कुरआन माविबाट कुनै पनि विद्यार्थीले १.६ ग्रेड प्राप्त नगरेका कारण नट ग्रेडेडमा परेको जनाइएको छ ।

विद्यार्थीले नट ग्रेडेडमा नपर्नका लागि ७५ अंकको सैद्धान्तिक परीक्षामा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा १० अंक ल्याउनै पर्ने व्यवस्था छ । त्योभन्दा कम अंक आएमा ग्रेड सिटमा उनीहरु ‘नट ग्रेडेड’ मा पर्ने गर्दछन् । नट ग्रेडेडमा परेका विद्यार्थीहरुले माथिल्लो कक्षामा अध्ययन गर्न नपाउने व्यवस्था छ ।

मोरङमा शैक्षिक वर्ष २०८० मा १६९ वटा सामुदायिक, २२५ वटा संस्थागत र प्राविधिक धार सञ्चालित १६ विद्यालयसहित कुल ३९४ वटा विद्यालयबाट १७ हजार ५ सय ४५ विद्यार्थीहरुले एसईई परीक्षामा सहभागी भएका थिए । 

बिहीबार प्रकाशित एसईईको परीक्षाफल अनुसार मोरङमा एउटा विषयमा ६६ र दुई वटा विषयमा ६४ जना गरी १३० जना विद्यार्थी ‘नट ग्रेडेड’ मा परेका छन् । उनीहरुले भने ग्रेड वृद्धिका लागि पूरक परीक्षा दिन पाउने छन् । 

मोरङबाट जम्मा ५३.३५ प्रतिशत विद्यार्थीहरु मात्रै उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतमले बताए ।

View : 2028

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved