माहेश्वरी महिला मञ्चको स्वास्थ्य शिविर
विराटनगर । कोशी प्रदेश सरकारका भौतिक विकास तथा पूर्वाधार मन्त्री भुपेन्द्र राईले मंगलबार मोरङको कटहरीमा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् ।
स्वास्थ्य मन्त्रालयसमेतको कार्यभार सम्हालेका मन्त्री राईले माहेश्वरी महिला मञ्च विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरेका हुन् ।
शिविरमा सयौं संख्यामा आएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको आयोजक संस्था माहेश्वरी महिला मञ्च विराटनगरकी अध्यक्ष ललिता जाजूले जानकारी दिएकी छन् ।
शिविर कटहरी-४ स्थित भगवती आधारभूत विद्यालयमा भएको हो ।
शिविरमा विराटनगर नर्सिङ होमका महिला बालबालिका, मानसिक रोग विशेषज्ञ र अनुभवी चिकित्सकहरूद्वारा निःशुल्क जाँच तथा परामर्श सेवा दिइएको थियो ।
साथै निःशुल्क ब्लड प्रेसर र सुगर, ई-सिजी गरिनुका साथै निःशुल्क औषधि वितरण पनि गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
कार्यक्रममा माहेश्वरी समाजका अध्यक्ष घनश्याम काबरा, माहेश्वरी समाजका बजरंग कोहली, मञ्चकी सहसचिव अर्चना तापडिया, सल्लाहकार पुनम राठीलगायतको सहभागिता थियो ।
कार्यक्रम संयोजक प्रीति अटल थिइन् । शिविरमा सोही क्षेत्रका कोशी प्रदेशसभा सदस्य भीम पराजुली पनि उपस्थित थिए ।
माहेश्वरी महिला मञ्च विराटनगरले यसअघि कोशी अञ्चल अस्पताललाई ‘पोस्ट मेटरनिटी किट’ वितरण गर्नुका साथै डस्टबिनहरू उपलब्ध गराएको थियो ।
आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्ने मञ्चको योजना रहेको अध्यक्ष जाजूले बताएकी छन् ।
View : 258
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved