पर्यावरण सुरक्षाको पक्षमा अदालतको आदेश
विराटनगर । सडक सफाईका नाममा बाटो छेउका रूखविरूवा काट्ने मोरङ रतुवामाई नगरपालिकाको निर्णयलाई उच्च अदालत विराटनगरले रोक लगाइदिएको छ ।
यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेर रूखविरूवा काट्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको उच्च अदालतले सोमबार सोही आदेश अनुरूपकै अन्तरिम आदेश जारी गरेको छ ।
‘सरसफाईको आवरणमा बातावरणमा प्रतिकूल प्रभाव पर्ने गरी सडक किनारमा रहेको सडकलाई अवरोध नगरेका रूखहरू एवं जीवनपयोगी र मानवहितमा प्रयोग हुने बोट बिरूवा नष्ट गर्न उपयुक्त नहुने’ आदेश अदालतले गरेको छ ।
मोरङ रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंह गनगाईंले गएको भदौ २८ मा एउटा सार्वजनिक सूचना प्रवाहित गरे । जुन सूचनामा नगर क्षेत्रभरीका सडक छेउछाउका रूख काट्ने जानकारी थियो ।
सडक छेउका रूख विरूवाले आवतजावतमा बाधा अवरोध गरेको र त्यो अवरोध हटाउन असोज ३० देखि नगर प्रहरी र ‘ब्याकहोल्डर’ लगाउने मेयरको सार्वजनिक घोषणा थियो ।
लगत्तै अधिवत्ताहरू लबन न्यौपाने र विनोदमणि भट्टराईले अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गर्दै असोज ८ मा अदालतले नगरको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
सोमबार न्यायाधीशहरू ध्रुवराज नन्द र ममता खनालको संयुक्त इजलासले अन्तरिम आदेश गर्दै वातावरणमा प्रतिकूल असर पर्ने काम हुन नहुने बताएको छ । नगरपालिकाले कानुन अनुसार काम गर्न पाउने भए पनि त्यसक्रममा वातावरणीय पक्ष ख्याल गर्नुपर्ने अदालतको ठहर छ ।
‘सार्वजनिक सडकको अवरोध हटाउने र सरसफाई गर्ने सम्बन्धमा सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ को उपदफा (३) र (४) ले स्थानीय तहलाई अधिकार प्रदान गरेको देखिन्छ । साथै आफ्नो क्षेत्रभित्रको सडकको मर्मत संभार, सरसफाई सम्पन्धमा अन्य कानुनहरूले समेत स्थानीय तहले कामकाज गर्न सक्ने नै हुन्छ’, अन्तरिम आदेशमा भनिएको छ ‘उल्लेखित कानुनी व्यवस्थाले विपक्षी नगरपालिकालाई आफ्नो क्षेत्रभित्र सडकको सवारी आवागमन र पैदल यात्रीलाई सहज यात्रा गर्नको लागि सडकको अवरोध हटाउन बाधा पर्न जाने देखिदैन । तथापि सडक सरसफाइको आवरणमा वातावरणमा प्रतिकूल प्रभाव पर्ने गरी सडक किनारमा रहेको सडकलाई अवरोध नगरेका रूखहरू एवं जीवनपयोगी र मानव हितमा प्रयोग हुने बोटबिरूवा नष्ट गर्न उपयुक्त हुँदैन ।’
स्थानीय सरकारले वातावरणीय प्रभावलाई दृष्टिगत गरी असल नियतले सरसफाई सम्बन्धी कानुनतः बाधा नपर्ने कार्य गर्दा बातारवण संरक्षणलाई ध्यानमा राख्नुपर्ने उल्लेख गर्दै आदेशमा भनिएको छ ‘सडकलाई अवरोध नगरेका रूखहरू कटान नगर्नू, ठूला प्रकारका साधन बाहेक सामान्य साधन र औजार प्रयोग गरी सडक आवागमनमा अवरोध हुने झाडी, रूखका हाँगा लहरा लगायत फोहरहरू हटाई सडक सरसफाई गर्नू, निजी जग्गाधनीको जग्गामा लगाएको रूख, लहरा, झाडीबाट सडक अवरोध भएको देखिई सो हटाउन पर्ने भएमा सम्बन्धित धनीलाई उपयुक्त अवधि किटान गरी स्वयंलाई हटाउन मौका दिनू, निजले तोकिएको अवधिमा नहटाएमा जग्गाधनीलाई जानकारी दिई माथि उल्लेख गरिए अनुरूप हुने गरी सडक सरसफाई गर्नु गराउनू ।’
View : 108
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved