Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेपाली महिला पहिलोपटक महिला विश्वकपमा

नेपालको वरिष्ठ पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टोलीले ८ पटक विश्वकप खेलिसके पनि महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा पुग्न सकेको थिएन । यसपटक त्यो इतिहास पनि रचिएको छ ।
उद्घोष सम्वाददाता
२९ कार्तिक २०८१, बिहिवार

विराटनगर । नेपालको महिला क्रिकेटका लागि बुधबार ऐतिहासिक दिन रह्यो । नेपालको युथ–१९ महिला टोलीले विश्वकपमा स्थान बनाएसँगै महिला टोली पनि विश्वमञ्चमा देखा पर्ने निश्चित भएको हो । 

संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराउदै नेपालले आईसीसी यू–१९ महिला विश्वकपमा सहभागिता निश्चित गरेको हो । 

नेपालको वरिष्ठ पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टोलीले ८ पटक विश्वकप खेलिसके पनि महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा पुग्न सकेको थिएन । यसपटक त्यो इतिहास पनि रचिएको छ । 

यूएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको रवाफिलो जित हात पार्दै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

अब नेपालले आगामी पुस ५ देखि २० गतेसम्म मलेसियामा हुने विश्वकप खेल्नेछ । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।

नेपालको जितमा ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक ३५ तथा कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । ओपनर सावित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रीनले १९ बलमा नट आउट १३ रन जोडिन् । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको थियो ।

यूएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ , रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् । 

एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमायो । नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । 

कप्तान पूजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरेकी थिइन् । नेपाल विश्वकपमा समूह डी मा छ । यो समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् ।

View : 52

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved