कांग्रेस विशेष महाधिवेशन
विराटनगर । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर देशभर बहस चर्किरहेका बेला मोरङबाट उल्लेख्य संख्यामा नेताहरू विशेष महाधिवेशनमा सहभागी भएका छन् ।
पार्टी नेतृत्वले सहभागिता रोक्ने प्रयास गरे पनि मोरङमा त्यो प्रयास सफल हुन नसकेको पुष्टि भएको छ ।
मोरङबाट विशेष महाधिवेशनमा सहभागी हुने नेताहरूमा महेश आचार्य, वसन्त भट्टराई, रामकृष्ण भट्टराई, गुरुराज घिमिरे, डा. डिला संग्रौला, अमृत अर्याल, डा सुनिल शर्मा, केदार कार्की, खड्ग फागो र केशव निरौला लगायत रहेका छन् । यी नेताहरूको सक्रिय उपस्थितिले मोरङ कांग्रेसभित्र विशेष महाधिवेशनको पक्ष बलियो बन्दै गएको देखिएको छ ।
विशेषगरी मोरङ क्षेत्र नम्बर ६ बाट कसैलाई पनि विशेष महाधिवेशनमा सहभागी नहुन दबाब दिइएको भए पनि त्यो रणनीति थेग्न नसकेको स्पष्ट भएको छ ।
डा. शेखर कोइराला निकटका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की नै खुलेर विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
पार्टीका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसमेत गरिसकेका छन् ।
यही पृष्ठभूमिमा कांग्रेस नेता शेखर कोइरालाले भने सबै मिलेर ‘एकताको महाधिवेशन’ गर्न सकिने टिप्पणी गरेका छन् ।
विशेष महाधिवेशनको उद्घाटनको ठीक अगाडि उनले सहमति र सहकार्यका साथ समग्र कांग्रेसको एकताको महाधिवेशन सम्भव रहेको बताएका हुन् ।
तर कोइराला पक्षकै नेताहरू क्रमशः विशेष महाधिवेशनको पक्षमा खुल्न थालेपछि उनले भिडियो सन्देश जारी गर्दै आफू एक्लो भए पनि बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले छोडेको मौलिक आदर्श र सिद्धान्तको पदचापबाट विचलित नहुने बताएका छन् ।
कोइरालानिकट कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की मात्र होइन, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी र डा. सुनिल शर्मासमेत विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । यसले कोइराला समूहभित्रै मतभेद सतहमा आएको देखिएको छ ।
भिडियो सन्देशमा कोइरालाले भनेका छन्, ‘हामीले भावी पुस्तालाई फेरि बलिदान र संघर्षको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान दिनु हुँदैन । नेपाली कांग्रेसभित्र संगठित प्रयत्नहरू अगाडि आएका छन्, पार्टी विधानलाई अझ लोकतान्त्रिक बनाउन शक्ति पृथकीकरणको मौलिक सिद्धान्त प्रयोग गर्ने प्रयास भएको छ ।’
उनले पार्टीभित्र पुस्तान्तरण र हस्तान्तरणको अभियान आफूले अघि सारेको उल्लेख गर्दै मन्त्री, महामन्त्री, सभापति वा प्रधानमन्त्री बन्ने लोभले कहिल्यै आकर्षित नगरेको दाबी गरेका छन् ।
‘एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग संघर्ष गर्नुपरेको छ भने अर्कोतिर ऊर्जावान युवाहरूको असन्तोषको सामना गरिरहेको छु,’ कोइरालाले भनेका छन्, ‘मैले विशेष महाधिवेशनको अभियानमा आफ्नो मत लिखित रूपमा राखेको छु, ताकि पार्टी विभाजनको सन्देश नजाओस् । अन्तिमसम्म पार्टी विधान र भावनात्मक एकताका लागि त्याग र अपमान सहेर पनि अघि बढ्नेछु ।’
कोइरालाले विशेष महाधिवेशनका लागि काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको धरोहरको संज्ञा दिँदै विधिको प्रभावकारिता स्थापित गर्ने ऐतिहासिक दायित्व उनीहरूको काँधमा आएको बताएका छन् ।
View : 1345
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved