Biratnagar, Morang, Nepal
२० साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

व्यावसायिक घरानामा छापा: सरकारले देखायो खेलाँची पारा

उद्‌घोष संवाददाता
१९ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । कुनै ठोस प्रमाणबिना नै विराटनगरको एक व्यावसायिक घरानामा सोमबार बिहान पाँच घण्टा लगाएर गरिएको खानतलासीले यहा“का उद्योगी व्यवसायीलाई आक्रोशित बनाएको छ ।

यस घटनाले नयाँ सरकारप्रति केही हदसम्म आशा व्यक्त गर्दै आएका उद्योगी व्यवसायी सरकारको पछिल्लो व्यवहारका कारण त्रसित बनेका छन् । 

मोरङ प्रहरीले सोमबार झिसमिसेमै ‘विशेष सूचनाको आधारमा’ भन्दै विराटनगरको प्रतिष्ठित औद्योगिक समूह देवेनरा मुन्दडा ग्रुपको कार्यालय तथा निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी लिएको छ । बिहानभरी लगाएर खानतलासी गरे पनि खोजेको कुरा नभेटिएको भन्दै प्रहरी भने रित्तो हात फर्किएको छ । खानतलासी गर्दा कुनै पनि गैरकानूनी सामान फेला नपरेको जिल्ला प्रहरी कार्यालय आफैले विज्ञप्तिमार्फत स्वीकारेको छ ।

ठूलो संख्यामा प्रहरी परिचालन भई बिहान साढे चार बजेदेखि लगातार झण्डै पाँच घण्टा विराटनगर–७ गोश्वारा सडक नै बन्द गरेर प्रहरीले खातनलासी गरेको थियोे । 

‘विराटनगर–७ गोश्वारा रोडस्थित बेनीगोपाल मुन्दडाको घरमा गैरकानुनी चिजवस्तुहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएर खानतलासी गर्दा सूचनाबमोजिमको गैरकानुनी सामानहरू फेला नपरेको’ मोरङ प्रहरीको विज्ञप्तिमा भनिएको छ । सोही विज्ञप्तिमा उक्त खानतलासीपछि  अनुसन्धान भने जारी रहेको उल्लेख गरिएको छ ।

मुन्दडा समूहले घरभित्र अवैध रूपमा नगद राखेको आशंकाका आधारमा प्रहरीले खानतलासी गरेको स्रोतको दाबी छ । 

‘दराज पनि खोलेर हेर्नुभयो, कागजपत्र केही लानुभएको छैन’ देवेनरा समूहका एक सदस्य वेनीगोपाल मुन्दडाले भने । उनका भतिज एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले तत्कालीन परिस्थितिलाई साम्य पार्न र परिवारमा परेको त्रासबाट जोगिन ‘प्रहरीले आफ्नो सूचनाअनुसार अनुसन्धान गरेको’ जवाफ दिए । ‘केही भेटिएन, वहाँहरूले आफ्नो जिम्माको काम गर्नुभएको हो, केही छैन’ मुन्दडाले भनेका थिए ।

गृह मन्त्रालयले एकपछि अर्को गलत सूचनाका आधारमा उद्योगी घरानामाथि धावा बोल्ने शैलीका कारण उद्योगी व्यवसायी क्षेत्र अहिले चिन्तित बनेको छ ।

देवेनरा समूहका सदस्यहरूको निवासमा गरिएको खानतलासीमा खाली हात फर्किनु पर्दा प्रहरी ‘गलत सूचना’ को भरमा चलिरहेको भन्दै बहस पनि सुरु भएको छ । यस्तो घटनाले उद्योग व्यवसाय क्षेत्र त्रसित भएको भन्दै सरकारको व्यवहारप्रति उनीहरू रुष्ट बनेका छन् ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाको निजी निवास र कार्यालयमा प्रहरीले सोमबार गरेको खानतलासीप्रति आपत्ति जनाएका छन् ।

राज्यको यस प्रकारको व्यवहारले सम्बन्धित उद्योगी व्यवसायीको परिवार मात्रै नभई समग्र उद्योगी व्यवसायीको मनोबलमै गम्भीर असर परेको बताए ।

मुण्दडा समूह विराटनगरका सफल उद्योगी, लगानीकर्ता तथा समाजसेवीका रूपमा परिचित छ । देवकिसन मुन्दडा, बेनीगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा र राजेन्द्र मुन्दडा दाजुभाइले स्थापना गरेको देवेनरा समूहले खाने तेल, साबुन, अगरबत्ती लगायतका एक दर्जन उद्योग व्यवसाय सञ्चालन गर्दै आएको छ । यो समूहले नेपालमा चाँदीको उद्योग सञ्चालन गर्दै आएको छ ।

यी उद्योगमा हजारौं श्रमिकले रोजगारी पाएका छन् भने उत्पादन, निर्यात र राज्यको राजस्वमा समेत उल्लेखनीय योगदान पुग्दै आएको परिसंघ अध्यक्ष सारडाले बताए ।

राज्यलाई कुनै पनि नागरिक वा संस्थामाथि कानुनबमोजिम अनुसन्धान गर्ने अधिकार भए पनि त्यसको प्रयोग गर्दा संविधानले प्रत्याभूत गरेका मौलिक हक, गोपनीयताको अधिकार, मानवीय मर्यादा र सम्मानको पूर्ण संरक्षण हुनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘बिहान उज्यालो नहुँदै निजी निवासलाई चारैतिरबाट घेराबन्दी गरी ठूलो संख्यामा प्रहरी परिचालन गर्नु, परिवारका सदस्य तथा ज्येष्ठ नागरिकलाई लामो समय मानसिक दबाबमा राख्नु र लामो समयसम्म खानतलासी गर्नु कुनै पनि दृष्टिकोणमा उचित होइन’ सारडाले भने, ‘यदि यस्तो कारबाही अपरिहार्य थियो भने त्यसको कानुनी आधार, आवश्यकता र उद्देश्यबारे राज्यले पारदर्शी रूपमा सार्वजनिक गर्न सक्नुपर्छ, खोजतलासबाट के प्राप्त भयो भन्ने विषयमा कानुनसम्मत सीमाभित्र स्पष्ट जानकारी दिन सरकारसँग माग गर्दछौं ।’

उनले मुलुकमा आर्थिक मन्दी, लगानीमा आएको संकुचन, उत्पादनमा गिरावट, रोजगारी संकट तथा निजी क्षेत्रको घट्दो मनोबलजस्ता चुनौतीसँग जुधिरहेका बेला उद्योगी–व्यवसायीलाई नै त्रसित बनाउने शैलीले लगानीको वातावरण थप कमजोर बनेको बताए । साथै, उद्योग–व्यवसाय पलायनको जोखिम बढाएको उनले बताए ।

यस्तो घटनापछि परिसंघसहित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्तिमार्फत घटनाको विरोध जनाएका छन् । उनीहरूले देवेनरा समूहको घर तथा व्यवसायमा प्रहरीले सडक घेराबन्दी गरी छापा मारेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘उक्त छापामा कुनै किसिमको गैरकानुनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयता माथि नै गम्भीर प्रश्न उठाएको छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अपुष्ट सूचनाको भरमा उद्योगी÷व्यवसायीलाई आतंकित पार्ने शैलीमा बिहान ४ः३० बजेदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित बनाएको छ ।’

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले संघका पूर्वअध्यक्ष समेत रहेका प्रकाश मुन्दडाको घरमा भएको खानतलासीले आतंक र भय सिर्जना गरेको बताए । 

‘आतंककै शैलीमा राज्यबाट गतिविधि भयो, यस्तो कार्यबाट उद्योगी व्यवसायीहरू हतोत्साहित भएका छन्, त्यसैपनि उद्योगी व्यवसायीहरूको मनोबल कमजोर छ’ उनले भने, ‘यो घटनाले झन हातोत्साहित गर्ने काम गरेको छ, यस्तो छापामारीले आम नागरिकमा डरत्रास देखाउने काम भयो ।’

उद्योगी व्यवसायी सम्वद्ध संस्थाहरूले कानुन कार्यान्वयन राज्यको दायित्व भए पनि त्यसको कार्यान्वयन गर्दा नागरिकको सम्मान, प्रतिष्ठा, व्यावसायिक निरन्तरता तथा प्राकृतिक न्यायका सिद्धान्तलाई समेत समान रुपमा ध्यान दिनु आवश्यक हुने बताएका छन् ।

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेको अवस्थामा हतोत्साहित हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहार बीच तादम्यता नभएको बताएका छन् । यस प्रकारका गतिविधिले सरकार र निजी क्षेत्रबीच अविश्वास बढ्दै गई आर्थिक गतिविधि विस्तार गर्ने सरकारकै उद्देश्यमा समेत प्रतिकूल प्रभाव पारेको बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले राज्यले चाहेकै भरमा जथाभावी रुपमा यस्तो कार्य गर्नु अनुचित भएको बताए । यो घटनाले हजारौंलाई रोजगारी दिइरहेका उद्योगी व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोणमा सकारात्मक बदलाव नदेखिएको भन्दै चिन्ता व्यक्त गरे ।

‘राज्यसँग विशेष सूचना आयो भने खोजतलासी गर्न सक्छ तर उद्योगी व्यवसायीको घरमा एकाविहानै गएर गएर प्रतिष्ठामै आँच आउने गरी व्यवहार गर्नु उचित देखिएन’ उनले भने, ‘उद्योगी व्यवसायीको मनोबल अलिक केही माथि उठेको बेलामा यस्ता घटनाले मनोबल फेरि डाउन हुने अवस्था आयो । उद्योगी व्यवसायी आतंककारी त होइन नि, यस्तो तरिकाले त्रास फैलाउन राज्य नै लाग्नु हाम्रो लागि निकै दुःखद् छ ।’

उद्योगी व्यवसायीले लामो समयदेखि आर्थिक मन्दी, लगानीको अनिश्चितता र कमजोर बजार संयन्त्रको मार खेप्दै आएकोमा राजनीतिक स्थिरता खोजिरहेको बेलामा अनेकौं आन्दोलनको निसानामा परेको र नयाँ सरकारले पनि पुरानै शैलीमा त्रसित बनाउने काम गर्नुले झनै असुरक्षाको महसुस भएको बताए ।

View : 151

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved