Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

निर्वाचन विरोधी गतिविधिमा संलग्न नेकपा (बहुमत) का मोरङ इन्चार्ज र सचिव पक्राउ

उद्‌घोष संवाददाता
२० फागुन २०८२, बुधवार

विराटनगर । मोरङ प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बुधबार अपराह्न मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित बुधबारे चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

प्रनाउ चौधरीका अनुसार पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–८ बस्ने ३७ वर्षीय सुमन पौडेल रहेका छन् ।

चम्लागाईं नेकपा (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र पौडेल जिल्ला सचिव हुन् । उनीहरूलाई निर्वाचन बहिष्कारसम्बन्धी गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू मोरङकै सुन्द्रहरैंचा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको किनारमा फेला परेको शंकास्पद वस्तु (होक्स बम) प्रकरणसँग समेत सम्बन्धित हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ । त्यहाँ शंकास्पद वस्तु फेला परेपछि सुरक्षाकर्मीले त्यसलाई निष्क्रिय बनाएका थिए ।

उनीहरूले प्रयोग गरेको को ६ प ५११६ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका पाँच थान मोबाइल, पार्टीको झण्डा र १०७ थान पर्चा–पम्पलेट समेत बरामद गरिएको प्रनाउ चौधरीले बताए ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

View : 101

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved