Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सरकारले आज ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्दै

‘रमणीय कोशी’ मुख्य नारा, ‘८२ मा ८२’ गन्तव्य छानिंदै
उद्घोष सम्वाददाता
११ असोज २०८१, शुक्रवार

संखुवासभामा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल गुफापोखरी । तस्वीर सौजन्य : मिथुन ठाकुर, नेपाल पर्यटन बोर्ड

विराटनगर । कोशी प्रदेश सरकारले शुक्रबार एक कार्यक्रमका बिच आगामी वर्ष २०८२ साललाई औपचारिक रूपमा पर्यटन वर्षको रूपमा घोषणा गर्ने भएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत उच्च प्राथमिकतामा राखिएको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को घोषणा गर्ने भएका हुन् । आज सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसर पारेर सरकारले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा समारोह आयोजना गरेको छ । 

सरकारले आगामी पर्यटन वर्ष २०८२ लाई ‘डिलाइटफुल कोशी’ अर्थात ‘रमणीय कोशी’ भन्ने नाराका साथ मनाउने तयारी अघि बढाएको छ । त्यसैगरी ‘८२ का लागि ८२’ भन्ने नाराका साथ पर्यटकीय गन्तब्यको सूची सार्वजनिक गर्न लागेको जनाइएको छ ।

मुख्यमन्त्री कार्कीले शुक्रबार विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर रहेको बताए । 

उनले नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहनुले पनि कोशी प्रदेशको सम्भावना उच्च रहेको उनले बताए । 

‘विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमाल मध्ये ५ वटा मकालु, लोत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरुको ध्यान आकृष्ट गरेको छ । पाथिभरा, बराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरुले हाम्रो सामाजिक र धार्मिक विविधतालाई उजागर गरेको छ’ उनले भने, ‘पर्यटन प्रर्वद्धन गरी हाम्रो राष्ट्रिय पूँजी विकास गर्नुछ, संवृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न पर्यटन बर्ष घोषणाले महत्वपूर्ण सहयोग गर्नेछ ।’ 

मुख्यमन्त्री कार्कीले यसका लागि प्रदेशको श्रोत र साधनले भ्याएसम्म पर्यटकीय गन्तव्यहरुको निर्माण गर्ने र प्रचारप्रसार गर्ने काम पनि सुरु गरेको बताए ।

संघीय सरकार र स्थानीय सरकारहरुसँगको समन्वय र सहकार्यमा प्रदेशको पर्यटनलाई अगाडि बढाउन चाहेको उल्लेख गर्दै पर्यटन प्रर्वद्धन नीजि क्षेत्रको साझेदारी र हातेमालो आवश्यक रहेको बताए । 

शुक्रबार ‘पर्यटन न्याय र शान्ति’ भन्ने मुल नाराका साथ आज विश्व पर्यटन दिवस देशभर मनाइँदै छ ।

View : 99

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved