Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

केन्द्रीय अध्यक्षलाई सीएनआई कोशी अध्यक्ष सारडाले सुनाए उद्योग व्यवसायका समस्या

उद्‌घोष संवाददाता
८ भदौ २०८२, आइतवार

विराटनगर । नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डेलाई कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाले कोशी प्रदेशभित्रका उद्योग व्यवसाय क्षेत्रका समस्या सुनाएका छन् । 

सारडाले सरकारको लगानीको ग्यारेन्टी र विश्वास दिलाउने वातावरण नबनेको बताएका छन् । जसका कारण लगानीको जोखिम रहेको बताए ।

भर्खरै केन्द्रीय अध्यक्षमा चयन भएका पाण्डे प्रदेश समितिसँग भेटघाट गर्ने क्रममा विराटनगर आइपुगेका हुन् । अध्यक्ष पाण्डेलाई स्वागत गर्दै कोशी अध्यक्ष सारडाले उद्योग स्थापना र विकासका लागि पर्याप्त लगानीको अभाव रहेको बताए ।

‘जोखिम मोलेर उद्योग स्थापना गर्दा पनि भविष्य सुरक्षित छैन, उद्योगलाई विद्युतको अभाव समेत कायमै छ’ अध्यक्ष सारडाले भने, ‘तर सरकार र प्राधिकरणको बीचको विवादले उद्योगीहरू बदनाम भइरहेका छन्, सरकारले उद्योगीको समस्या समाधान गर्न उचित मार्ग निकाल्न सकेको छैन ।’

उनले भन्सार दर, आयकर, अन्तशुल्कको समेत समस्या हुने गरेको बताए । कोशी प्रदेशमा स्टिल आइरनदेखि सुनचाँदी व्यवसायीसम्मको समस्या समाधान नभएको गुनासो गरे ।

त्यस्तै सुति कपडा आयातमा अत्यधिक कर लाग्ने गरेको प्रति अन्तुष्टि व्यक्त गरे । साथै, भारतीय नीतिहरूका कारण नेपाली उद्योगहरूको निर्यात प्रभावित हुने गरेको बताए । त्यसको प्रत्यक्ष असर घ्यूतेल, पामआयल, फलामका सामन र भेनियर प्लाइउडमा परिरहेको जानकारी दिए ।

अध्यक्ष पाण्डेसँग प्रदेश समितिका अध्यक्ष सारडासहितका पदाधिकारी र सदस्यहरूले विभिन्न क्षेत्रका समस्या सुनाएका थिए । कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, संघीय सांसद अमनलाल मोदी, सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, सल्लाहकार महेज जाजू लगायतको उपस्थिति थियो ।

View : 497

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved