माओवादीले लुकाएको सकेट बम बिस्फोट घटना
विराटनगर । माओवादी कार्यकर्ताले घरमा लुकाएको सकेट बम बिस्फोट हुँदा घाइते भएका पाँचथरको फालेलुङ–५ प्राङबुङ डाँडागाउँका दुई बालकलाई बुधबार थप उपचारका लागि काठमाडौँ लगिएको छ । उक्त विस्फोटमा परी दुई बालबालिकाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।
सकेट बम बिस्फोट हुँदा घाइते भएका ११ वर्षीय पवन राई र ७ वर्षीय दिप्सन राईलाई थप उपचारका विराटनगरबाट जहाज चढाएर काठमाडौँस्थित बर्न अस्पताल लगिएको हो । बमको छर्राले उनीहरूको शरीरमा गहिरो चोटपटक लाग्नुका साथै शरीरका विभिन्न भाग डढेका कारण थप उपचारका लागि काठमाडौँ पठाइएको जनाइएको छ ।
उनीहरूलाई पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो ।
आफन्तले बालबालिकाहरूलाई उपचारका कारण ठिक हुँदै गएको भन्दै घाइते बालकहरूलाई पाँचथर नै फर्काएपछि चोट लागेको ठाउँमा संक्रमण भएको थियो । जिल्ला अस्पताल पाँचथरले उनीहरूलाई थप उपचार आवश्यक रहेको भन्दै पठाएपछि बुधबार काठमाडौँ लगिएको जनाइएको छ ।
स्थानीय तह, अभिभावक र प्रहरीको समेत समन्वयमा उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त क्षेत्रीले बताए । पाँचथरबाट किर्तिपुर बर्न हस्पिटल जानका लागि लाग्ने हवाई सहित सम्पूर्ण यातायात भाडा फालेलुङ गाउँपालिकाले व्यहोरेको जनाइएको छ ।
सकेट बम विस्फोटमा परी ११ वर्षीय दिप्सन सावाँ र उनकी २ वर्षीया बहिनी प्रिन्सा सावाँको उपचारका क्रममा मृत्यु भएको थियो ।
फालेलुङ–५ डाँडागाउँमा माओवादी कार्यकर्ता आइतराज केरुङको घरको छाना मुनिबाट खसेको सकेट खेलाउने क्रममा बिस्फोट हुँदा उनीहरूको ज्यान गएको हो ।
प्रिन्साको उपचारका लागि झापास्थित बी एन्ड सी अस्पताल लैजाने क्रममा इलाम पुगेपछि मृत्यु भएको थियो । गम्भीर घाइते भएका दिप्सनको भने झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजमा उपचारकै क्रममा गत शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार अपरान्ह ३ बजेतिर केरुङको घरमा ठूलो विस्फोट भएको थियो । मृत्यु भएका दिप्सन स्थानीय कालिका मावि प्राङबुङमा कक्षा ६ मा अध्ययनरत थिए ।
केरुङको घर नजिकै अर्को पनि सकेट बम भेटिएको र त्यसलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।
View : 142
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved