विराटनगर । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा सुरु गरेको ‘झोले अभियान’ पूर्वमा निष्प्रभावी देखिएको छ ।
कुनैबेला ओलीको एक निर्देशन नै काफी हुने एमालेको ‘आधार इलाका’ मानिने पूर्वमा यसपटक भने उनकै अभियानप्रति नेता कार्यकर्ताले खासै चासो प्रकट गरेका छैनन् ।
अध्यक्ष ओली आफैले सुरु गरेको यो अभियानलाई कोशी प्रदेशका धेरैजसो अगुवा नेताहरूले अस्वीकार गरेको देखिएको छ ।
लामो समयदेखि एमालेभित्र ओली समूहमै रहेका भनिएका नेताहरूले समेत उनको अभियानमा रुचि देखाएका छैनन् ।
केही कार्यकर्ताहरूले भने अध्यक्ष ओलीले सोमबार आफ्नो फेसबुक पेजमा ‘म झोले हो’ भन्ने तस्बिरसहितको एउटा पोस्टर राखेर यो अभियान थालेका थिए ।
एमालेका कार्यकर्ताहरूलाई सबैले ‘झोले’ भनेर होच्याउने गरेका थिए । सामाजिक सञ्जालमा अरुले ‘एमाले’ वा ‘ओलीको झोले’ भनिदिंदा कार्यकर्ताहरू रक्षात्मक बनेको तथ्यबारे जानकार ओलीले कार्यकर्ताको मनोबल उकास्नकै लागि अभियान थालेका हुन् ।
उनले फेसबुकमा ‘एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिंड्नु कयौं गुणा उत्तम चरित्र हो’ भन्ने सन्देशसहितको पोस्टर राखेपछि केन्द्रका धेरैजसो नेताले त्यसैलाई पछ्याएका थिए ।
मंगलबार साँझसम्ममा ओलीले थालेको अभियानको २४ घन्टाभन्दा धेरै भइसकेको छ ।
प्रधानमन्त्रीले नै ‘म झोले हो’ लेखेपछि उनी आबद्ध पार्टीका पदाधिकारीदेखि कार्यकर्ताले त्यसकै सिको गर्दै ‘म झोले हो’ भन्ने ट्रेन्ड नै चलाउने प्रयास गरे ।
केही समयअगाडि भारतमा भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मै भि चौकीदार’ भन्ने यस्तै ट्रेन्ड चलाएका थिए । ‘म झोले हो’ शब्दको फन्टसम्म चौकीदारसँग मिल्नु अब संयोगै मान्नुपर्ला ।
प्रधानमन्त्री आफैले म ‘झोले हो’ अभियान सुरु गरेपछि त्यसको प्रभाव कोशीमा कस्तो रह्यो भन्ने विषय थाहा पाउने प्रयास उद्घोषले गरेको छ ।
यसका लागि हामीले पार्टीको केन्द्रीय नेतृत्वमा रहेका, विभिन्न राजकीय जिम्मेवारी सम्हालिरहेका, विगतदेखि नै ओली निकट भनेर चिनिएका कोशी प्रदेशका एमालेका तीन दर्जनभन्दा बढी नेता कार्यकर्ताका सामाजिक सञ्जाल नियालेका छौं ।
फेसबुक, एक्स (ट्वीटर) र केहीको टिकटक अकाउन्ट पनि चहारेका छौं । केही नेताहरूसँग कुराकानीसमेत गरिएको छ । यसका लागि हामीले मंगलबार राति साढे ८ बजेसम्मको उनीहरूको सामाजिक सञ्जालको गतिविधि नियालेका छौं ।
यसक्रममा पार्टीको माथिल्लो जिम्मेवारीमा रहेका धेरै नेताहरूले आफ्नो सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने पोस्टर राखेका छैनन् ।
विराटनगरकै बासिन्दा रहेका उपाध्यक्ष गुरु बरालदेखि कोशी प्रदेश इञ्चार्ज शेरधन राईसम्म, कोशीका पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यदेखि हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसम्मका नेताहरूले ‘म झोले हो’ भन्ने हिम्मत गरेका छैनन् ।
मुख्यमन्त्री कार्की र मोरङ इन्चार्ज जीवन घिमिरेले भने प्रधानमन्त्री ओलीको पोष्ट सेयर भने गरेका छन् ।
पछिल्लो समय ओली विरोधी कित्तामा उभिएका विनोद ढकाल र उनका टिममा रहेका मोरङका धेरै नेता कार्यकर्ताले यसमा सहभागिता जनाएका छैनन् ।
त्यस्तै कोशी प्रदेशका अध्यक्ष धनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी हुन् अथवा मोरङ जिल्ला कमिटीका अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा नै किन नहुन्, उनीहरू कसैले पनि झोले अभियानमा सहभागिता जनाएका छैनन् ।
एमालेमा १० बुँदे पक्षधर भनेर चिनिने केन्द्रीय सदस्यसमेत रहेका झापाका नेता रबिन कोइरालादेखि ओली टिमकै नेता बसन्त बानियाँसम्म, तेह्रथुमका लक्ष्मण तिवारीदेखि कोशी संसदीय दलका उपनेता रहेका ताप्लेजुङका तिलकुमार मेयाङ्बोसम्मले झोले अभियानमा सहभागिता जनाएका छैनन् ।
कोशी प्रदेश मन्त्रिपरिषद्का सदस्यहरु राम राना, एकराज कार्की, रेवतीरमण भण्डारीले पनि झोले अभियानमा संलग्नता देखाएका छैनन् । राज्यमन्त्री सृजना राईले भने ‘म झोले हो’ भन्ने पोस्टर फेसबुकमा राखेकी छन् ।
ओलीकै गृह जिल्ला झापाका प्रदेश सांसद चिन्तन पाठक, कोशीकै प्रमुख सचेतक विदुर लिङ्थेपले झोले अभियानमा उपस्थिति देखाएका छैनन् ।
कोशी प्रदेश सभा सदस्य रहेकी नेता भीम आचार्यकी श्रीमती नीरा खनालले पनि झोले पोस्टर बनाएकी छैनन् । केन्द्रीय कमिटी सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीले भने सोमबार दिउँसो नै आफ्नो फोटो राखेर म झोले हो भनेर फेसबुक पोस्ट गरेकी छन् ।
अघिपछि पार्टी अध्यक्षको जुनसुकै विषयको बचाउमा अघि सरिहाल्ने सुनसरीकी एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले झोलेसँग सम्बन्धित फेसबुक पोस्ट मंगलबार बेलुकीसम्म गरेकी छैनन् ।
एमाले केन्द्रीय कमिटी सदस्य रामलाल साहले पनि झोले सम्बन्धी कुनै पोस्टर बनाएका छैनन् ।
एमाले कोशी प्रदेश कमिटी सदस्य राजेन्द्र काकसर््ले पार्टी नेता गोकुल बाँस्कोटाको झोलेसम्बन्धी फरक मतलाई समर्थन गरेका छन् । उनले आफूलाई झोले भनेर कहीँकतै प्रकट गरेका छैनन् ।
कुनैबेला काठमाडौंबाट ओलीले एक इशारा गर्नासाथ कार्यान्वयनका लागि अघि सरिहाल्ने एमाले नेता कार्यकर्ताले उनको झोले अभियानमा किन अरुचि देखाएका होलान् ?
मोरङ एमाले अध्यक्ष अजम्बर राईले यसबारे आफूलाई केही जानकारी नभएको बरु नेतृत्वलाई यसबारे जानकारी हुने भन्दै उतै सोध्न सुझाए । ‘म कसैको झोले होइन’ उनले भने ।
पछिल्लो समय राजनीतिक तथा सामाजिक वृत्तमा ‘झोले’ ज्यादै नकारात्मक बिम्बका रुपमा लिइने शब्द हो । शब्दका लक्षणा, अविधा र व्यञ्जना गरी अनेकौं अर्थ र लक्ष्य हुन सक्छन् भने जस्तै झोले राजनीतिक क्षेत्रका लागि अपमानजनक बिम्ब बनेको शब्द हो ।
प्रधानमन्त्री ओलीले यही शब्दबाट आजित कार्यकर्तालाई उत्साह भर्दै यसैको ब्राण्डिङ गर्न खोजेका थिए । यद्यपि उनको अभियानको दुई दिन पूरा हुँदा यसको पक्षमा भन्दा विपक्षमा बढ्ता माहोल देखिएको छ ।
भाषाविद् चूडामणि गौतमको ‘बृहत्तर शब्दकोश’ मा झोलेको अर्थमा ‘झोल भएको रसदार, झोला लिएर वा भिरेर हिंड्ने, मामुली’ भन्ने उल्लेख छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश अनुसार मामुलीको अर्थ निम्न तहको, नगण्य, महत्वहीन भन्ने उल्लेख छ ।
‘आफूले आफैलाई झोले भनेर पार्टी नेताहरूले के प्रमाणित गर्न खोजेको हो बुझिएन’, एक नेताले भने ।
मोरङको केराबारीका एमाले नेता सुमन मिरिङचिङले झोले बन्न अस्वीकार गरेको बताएका छन् । उनले झोले बन्न इन्कार गर्दै लेखेको फेसबुक पोस्ट भने हटाएका छन् ।
विराटनगरकै नेता मिनकुमार आचार्यले फेसबुकमा लेखेका छन् ‘म विचार बोक्ने र विचारलाई व्यवहारमा बदल्न सिकाउने अभियन्ता हुँ, झोले होइन ।’
View : 172
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved