Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोरियाको लगानी सेमिनारमा पुगे विराटनगरका राउत  दाजुभाइ

उद्‌घोष सम्वाददाता
२ पुष २०८१, मङ्गलवार

विराटनगर । दक्षिण कोरियाको राजधानी सोलमा आयोजित लगानी सेमिनारमा विराटनगरका दुई युवा व्यवसायी सहभागी भएका छन् ।

युवा उद्यमी प्रतीक राउत र प्रत्युश राउतले लगानी सेमिनारमा सहभागीता जनाउनुका साथै व्यापार व्यवसायसम्बन्धि अन्य बैठकहरुमा समेत उपस्थिति जनाएका हुन् । प्रतीक र प्रत्युश नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका छोराहरू हुन् ।

नेपालमा लगानीका बढ्दो अवसरहरूलाई उजागर गर्न सोलस्थित नेपाली दुतावासले गत मंसिर ३० देखि आयोजना गरेको लगानीसम्बन्धि विभिन्न कार्यक्रममा उनीहरुले सहभागीता जनाएका हुन् । 

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा बुसान चेम्बर अफ कमर्सको सहयोग एवं कोरियास्थित नेपाली दूतावास र कोरिया–नेपाल इन्टरनेशनल एक्सचेन्ज एसोसिएशनको आयोजनामा मंसिर ३० मा बुसानमा तथा पुस २ मा राजधानी सोलमा ‘नेपालमा लगानी र व्यापारका अवसरहरू’ विषयक लगानी सेमिनार आयोजना गरेको हो ।

उक्त कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीसहितका सरकारी अधिकारी समेतको उपस्थिति छ । कार्यक्रममा नेपालमा लगानीका बढ्दो अवसरहरूलाई उजागर गर्ने जनाइएको छ ।

त्यसैगरी नेपाल र कोरियाका व्यवसायी प्रतिनिधिहरूबीच व्यापार–व्यवसायसम्बन्धित बैठकहरू समेत आयोजना गरिएको जनाइएको छ ।

सरकारकै समन्वयमा मंगलबार कोरियाली चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीमा ‘ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रोमोशन फ्रेमवर्क’ मा हस्ताक्षर हुने कार्यक्रम समेत तय भइसकेको जनाइएको छ ।

नेपाल–कोरिया चेम्बर अफ कमर्सका अध्यक्ष किरण साखको नेतृत्वमा कोरिया पुगेको टोलीमा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी  छन् ।

View : 133

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved