Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

आन्दोलनले झुकाउँदैछ हर्क साम्पाङलाई

विद्यार्थी कुटिएकोमा दुःख व्यक्त, १० दल र विद्यार्थीको आन्दोलन नरोकिने
उद्घोष सम्वाददाता
२४ साउन २०८१, बिहिवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अरुको कुरा सुन्दै नसुन्ने व्यक्तिका रुपमा चिनिन्छन् । उनले आफ्नो बानीमा सुधार नगरेकै कारण आलोचनाको शृङ्खला जारी रहेको बेला धरानको खानेपानीको महसुल बढाएको विषयमा सुरु भएको आन्दोलनमा भने उनी झुकेका छन् । मेयर साम्पाङले आन्दोलनका क्रममा विद्यार्थीहरु माथि प्रहरीले धरपकड गरेपछि उनी घटनाप्रति दुःख व्यक्त गर्ने अवस्थामा पुगेका छन् ।

खानेपानी शुल्क वृद्धि विरुद्ध भएको आन्दोलनमा प्रहरीले गरेको दमनप्रति दुःख व्यक्त गरेका छन् । मेयर साम्पाङले लिखित रुपमा दुःख प्रकट गरेपछि प्रदर्शनमा उत्रिएका आन्दोलनरत १० दल र युवा विद्यार्थीहरूले बिहीबारका लागि आन्दोलन रोकेका छन् । उनीहरूले मेयर साम्पाङले सार्वजनिक रुपमा माफी माग्दै खानेपानीको शुल्क वृद्धि फिर्ता लिनैपर्ने माग भने कायमै राखेका छन् । 

मेयर साम्पाङ अध्यक्ष रहेको खानेपानी बोर्डले ९ हजार ९ सय प्रतिशतसम्म शुल्क र महसुल वृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णय खारेजीको माग गर्दै १० राजनीतिक दल चरणबद्ध आन्दोलनमा छन् । 

आन्दोलनकै क्रममा उनीहरूले बिहीबार बोर्डको कार्यालय र खानेपानी महसुल सङ्कलन काउन्टरहरूमा तालाबन्दी गरेका थिए । तर उच्च अदालतमा दलहरु विरुद्ध दायर भएको रिटले ताला खोल्न आदेश दिएपछि उनीहरूले उपमहानगरपालिकाको कार्यालय केन्द्रीत आन्दोलन अघि बढाएका हुन् ।

बिहीबार उपमहानगर परिसरमा भेला भएका आन्दोलनकारी पक्षले दिनभरी नै मेयर साम्पाङ विरुद्ध नारा जुलुस गरेका छन् । उनले उपमहानगरपालिकाको मुल गेटमा तोडफोड गर्ने प्रयास समेत गरेका थिए । तर प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ । 

आन्दोलन चर्किएपछि कार्यालयभित्रबाट गेट नजिकै आएर मेयर साम्पाङले खानेपानीको महसुल बृद्धिबारे आइतबार १० बजेका लागि आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका छन् ।

आन्दोलन हाँकिरहेका दलहरूले वार्ता आह्वानलाई सकारात्मक मानेका थिए । तर, तीन जना विद्यार्थीहरू घाइते हुने गरी प्रहरीले दमन गरेको र मेयर साम्पाङकै निर्देशनमा प्रहरीले बल प्रयोग गरेको आरोप लगाउँदै लिखित रुपमा माफी नमागेसम्म प्रदर्शन नरोक्ने घोषणा गरेका छन् ।

‘हामीले वार्ता आह्वानलाई सकारात्मक नै लिएका थियौँ तर विद्यार्थीहरूले मेयरले लिखित माफी माग्नुपर्ने र वार्ताको आह्वान पनि लिखित नै गर्नुपर्ने अडान राखेपछि हामीले पनि साथ दियौँ’, कांग्रेस धरानका सभापति श्याम पोखरेलले भने ‘विद्यार्थीहरु माथि भएको बल प्रयोगको घटनामा मेयरले लिखित दुःख प्रकट गरेपछि आजलाई भने प्रदर्शन रोकिएको छ ।’

पोखरेलका अनुसार खानेपानीको शुल्क र महसुल वृद्धिको निर्णय खारेज नभएसम्म धरानमा आन्दोलन जारी रहनेछ । त्यसबाहेक लिखित रुपमा मेयरले वार्ताको आह्वान नगरेसम्म उपमहानगर कार्यालय केन्द्रीत प्रदर्शन पनि जारी रहने बताएका छन् ।

विद्यार्थीमाथि भएको बल प्रयोगमा दुःख प्रकट गरेका मेयर साम्पाङले लिखित रुपमा आन्दोलनकारीलाई वार्तामा बोलाएका छैनन् ।

View : 160

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved