Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा शेखर समुह बिनै काङ्ग्रेस आज सरकारमा जाँदै

यी हुन् मन्त्री बन्न लागेका चारजना (नामसहित)
उद्घोष सम्वाददाता
२८ भदौ २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली काङ्ग्रेस आजबाट सहभागी हुने भएको छ । शुक्रबार बिहान नौ बजे कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयहरुमा मध्ये शेखर कोइराला समुह बाहेक तीन मन्त्री र एक राज्यमन्त्रीसहित सहभागी हुन लागेको जनाइएको छ । 

दुईवटा मन्त्रालय नपाए मन्त्री नपठाउने शेखर समुहको अडानका कारण दलका नेता उद्धव थापाले शेखर समुह बिनै मन्त्री पठाउने निष्कर्षमा पुगेका हुन् ।

काङ्ग्रेसबाट कोशी प्रदेशका महामन्त्री समेत रहेका प्रदेश सांसद भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी भइरहेको जनाइएको छ । राई सिटौला समुहका हुन् ।
कृष्णप्रसाद सिटौला समुहका नेता राईले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने काङ्ग्रेस नेताहरूले जानकारी दिएका छन् । 

काङ्ग्रेसबाट मन्त्री बन्ने अन्य सांसदहरुमा ताप्लेजुङका खगेनसिह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र  सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने निश्चित भइसकेको जनाइएको छ । हाङ्गाम र मण्डल दुवै सभापति देउवा निकट हुन् ।

काङ्ग्रेसभित्र सिटौला समुहबाट झापाका भुमी प्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने भएको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिएका छन् ।

कोशीमा शेखर समुहले भने अहिलेसम्म मन्त्रीको नाम नदिएको काङ्ग्रेसका नेताहरूले जानकारी दिएका छन् ।

शेखर समुहले दुईवटा मन्त्रालय नपाए सरकारमै नजानेसम्मको छलफल गर्दै आएका छन् । दुईवटा मन्त्रालय नपाएपछि शेखर सभापति देउवासँग छलफलै नगरी अहिले सिंगापुर गएको काङ्ग्रेसकै एक प्रदेश सांसदले बताए ।

यता प्रदेश प्रमुखको कार्यालयले भने मन्त्रीहरूको शपथको औपचारिक जानकारी नआएको जनाएको छ । तर साढे ९ बजेसम्म सपथ हुन सक्ने अनौपचारिक खबर भने आएका कारण त्यसै अनुसार आवश्यक तयारी अघि बढाइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

View : 302

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved