Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

काबेली–३ क्यास्केडको परीक्षण उत्पादन सुरु

कोशी प्रदेशबाट फेरि थपियो २१.९३ मेगावाट

उद्‌घोष संवाददाता
२२ साउन २०८२, बिहिवार

विराटनगर । ८२ मेगावाटको तल्लो सोलु खोला हाइड्रोले परीक्षण उत्पादन सुरु गरेको दुई साता नबित्दै  नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय ग्रीडमा काबेली खोला बेसिनबाट २१ दशमलव ९३ मेगावाट विद्युत थपिएको छ ।

काबेली हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्धनमा निर्माण सम्पन्न भएको काबेली–३ क्यास्केड जलविद्युत आयोजनाले मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरेको आयोजना प्रतिनिधि मेघनाथ ढुंगानाले जानकारी दिए ।

नदी प्रवाह अर्थात् रन अफ रिभर (आरओआर) मा आधारित आयोजनाको पावरहाउस ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–५, पेदाङ खोलाखेतमा छ । 

पावरहाउसमा जडित १०.९५६ मेगावाट क्षमताका दुईवटा टर्बाइनबाट परीक्षण उत्पादन भइरहेको ढुंगानाले बताए ।

काबेली हाइड्रोकै लगानीकर्ताहरूले प्रवद्र्धन गरेको हिल्टन हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेर उत्पादन सुरु गरिसकेको १२ मेगावाटको सुपर काबेली खोला हाइड्रोबाट निस्किएको पानीलाई खोलामा खस्नै नदिई अर्को हेडरेस टनेल (सुरुङ) बाट सिधै लगेर काबेली–३ क्यास्केडको विद्युत गृहमा खसालिएको हो ।

उत्पादित विद्युत पाँचथरको हिलिहाङ गाउँपालिका–१ दुबिचौरस्थित सबस्टेशनमा १३२ केभी प्रसारणलाइनमार्फत काबेली करिडोरको प्रसारण लाइनमा जोडिएको छ । पावर हाउसबाट उत्पादित विद्युतलाई सबस्टेशनसम्म पुर्‍याउन ३१ वटा टावर रहेको प्रसारण लाइन निर्माण गरिएको जनाइएको छ ।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङको ओथामबाट ५ दशमलव १४० किलोमिटर लामो सुरुङमार्फत पानीलाई पेदाङ खोलाखेतमा रहेको पावर हाउसमा पठाएर विद्युत उत्पादन गरिएको छ ।

एनएमबि बैंक लिमिटेडको मुख्य नेतृत्वमा प्रभु बैंक र नबिल बैंकको ७५ प्रतिशत ऋण लगानी तथा बाँकी २५ प्रतिशत लगानीकर्ताबाट जुटाइएको यो आयोजनाको कुल लागत ४ अर्ब २८ करोड ५० लाख १ हजार रुपैयाँ रहेको जनाइएको छ । आयोजना २०७९ माघ ५ मा निर्माण सुरु भएको थियो ।

काबेली हाइड्रोपावर कम्पनी लिमिटेडकै लगानीकर्ताहरूले काबेली खोलाबाट काबेली–३ क्यास्केडसहित तीनवटा आयोजना निर्माण गरिसकेका छन् । 

सुपर काबेली खोला हाइड्रो (१२ मेगावाट) र सुपर काबेली खोला ए (१३.५ मेगावाट) निर्माण सम्पन्न गरेर व्यवसायिक उत्पादन गरिरहेको हाइड्रो पावर कम्पनीका लगानीकर्तासमेत रहेका ढुंगानाले बताए ।

काबेली खोलामा निर्मित काबेली बी-१ (२५ मेगावाट) र काबेली बी-१ क्यास्केड (१० मेगावाट) ले दुई वर्ष अघि नै व्यावसायिक उत्पादन गरिसकेका छन् । काबेली खोला बेसिनमै अपर काबेली (२८.१ मेगावाट) र काबेली ए (३७ मेगावाट) भने निर्माणाधीन रहेको जनाइएको छ ।

View : 581

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved