Biratnagar, Morang, Nepal
१५ वैशाख २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा पत्रकार, शिक्षक र विद्यार्थीहरू सम्मानित

उद्घोष सम्वाददाता
९ चैत २०८०, शुक्रवार

विराटनगर । विराटनगरका पत्रकार शंकर लुइँटेलले आफ्ना स्वर्गीय बुवा आमाको स्मरणमा स्थापना गरेको नारदमुनि–पवित्रादेवी लुइटेल स्मृति कोषले शुक्रबार पत्रकार, शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा  झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजन विराटनगरकी सम्वाददाता सुशीला पाठकलाई प्रदान गरिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार हस्तान्तरण गरेका हुन् । ११ हजार १११ रुपैयाँ राशि रहेको सो पुरस्कार विद्यालयमा आयोजित कार्यक्रमका बीच पत्रकार पाठकलाई प्रदान गरिएको हो ।

सोही अवसरमा उक्त विद्यालयका पूर्व शिक्षकहरू हरिनन्दन दास अछामी र शिवनारायण चौधरीलाई छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मान प्रदान गरिएको थियो । 

कोषको तर्फबाट स्थापना गरिएको एक लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट प्राप्त भएको रकमबाट विद्यालयसँगको समन्वयमा चारजना विद्यार्थीहरूलाई जनही तीन हजार रुपैयाँ बराबरको छात्रवृत्ति समेत प्रदान गरिएको हो । विद्यार्थीहरु दिनेश खत्री, दीपिका कुमारी कार्की, मल्लिका विश्वास र आरती सरदारलाई छात्तवृत्ति प्रदान गरिएको थियो ।

शिक्षक र विद्यार्थीहरूलाई समेत मुख्यमन्त्री कार्कीले सम्मान र छात्रवृत्ति रकम हस्तान्तरण गरेका थिए ।

कोषले वि. सं २०७८ बाट वितरण गर्न सुरु गरिएको झिलकुमारी लुइँटेल स्मृति पुरस्कारबाट हालसम्म पत्रकारहरू अभय राई र विनोद सुवेदी पुरस्कृत भइसकेका छन् ।

View : 82

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved