विराटनगर । विराटनगरमा गत मंसिर ४ गतेदेखि सुरु भएको पञ्चदिवसीय निःशुल्क योग विज्ञान शिविर मंगलबार भव्य समारोहका बीच समापन भएको छ।
पतञ्जलि योग समितिहरूको समन्वय तथा बाल कल्याण विद्या मन्दिर (बीकेभीएम) को प्राङ्गणमा सञ्चालित उक्त शिविरको समापन समारोहमा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
समापन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफूले योगको महत्त्वलाई गहिराइका साथ बुझ्दै गएको बताए।
उनले महानगरमा योगलाई एक अभियानकै रूपमा अगाडि बढाउन आफू तयार रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता रचनात्मक शिविर आयोजनाका लागि महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका विराटनगर महानगरपािलका–११ का वडाध्यक्ष तथा योग शिक्षक तीर्थेन्द्र न्यौपानेले पतञ्जलि महानगर समितिले योग अभियानमार्फत स्वस्थ र सभ्य नागरिकसहितको महानगर निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।
जनहितका यस्ता कार्यक्रममा वडा कार्यालयले सधैँ साथ र सहयोग गर्ने उनको भनाइ थियो।
सो अवसरमा मुख्य प्रशिक्षक साध्वी देवादितिले महानगरपालिकाको सहयोगमा निकट भविष्यमै एउटा भव्य ‘युवा योग शिविर’ सञ्चालन गर्न मेयर कोइराला र वडाध्यक्ष न्यौपानेसमक्ष आग्रह गरिन्।
हरिद्वारबाट पाल्नुभएकी मुख्य प्रशिक्षक साध्वी देवादितिको आवास तथा यातायातको व्यवस्थापन पतञ्जलि योग जिल्ला समिति मोरङका कोषाध्यक्ष अशोक भट्टराई र महिला सदस्य सञ्चिता भट्टराईले गरेका थिए।
पतञ्जलि योग महिला जिल्ला समिति मोरङकी अध्यक्ष सूची चौधरीको अध्यक्षतामा सम्पन्न समारोहमा पतञ्जलि महानगर समितिका अध्यक्ष माधव अधिकारीले शिविर सफल पार्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।
उनले विराटनगर महानगरपालिका–११ को कार्यालय, पतञ्जलि कोशी प्रदेश समिति परिवार, जिल्लाका दुवै समिति तथा महानगर समितिका पदाधिकारीहरूसहित विभिन्न साधना केन्द्रका संयोजकहरू, वडा संयोजकहरू र चारै तहका मिडिया प्रभारीलगायत सबैको उल्लेख्य योगदान रहेको बताए।
साथै, शिविर सञ्चालनका लागि मैदान उपलब्ध गराउने बाल कल्याण विद्या मन्दिरका संरक्षाक चिरञ्जीवी दाहाल, प्राचार्य रविन दाहाल, प्रशासनिक फाँटका दीपक निरौला र रामहरि देवकोटासहित सम्पूर्ण विद्यालय परिवारलाई विशेष धन्यवाद दिइएको थियो।
पाँच दिनसम्म चलेको साे शिविरमा सहभागीहरूले छोटो अवधिमै आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाएका थिए।
सहभागीमध्येका विराटनगर–१२ का रोहित पौडेलले यस पाँच दिनको अवधिमा आफ्नो लामो समयदेखिको ढाड दुख्ने समस्या समाधान भएको अनुभव साटेका थिए।
View : 52
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved