विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सामाजिक कार्य, कला, कानुन तथा शिक्षा संकायको आयोजनामा एनएसआईएस परियोजना (भारत, श्रीलङ्का र नेपालमा व्यवसाय, नवप्रवर्तन तथा उद्यमशीलताका लागि सूचना, अनुसन्धान र डिजिटल सीपको विकास) को विशेष प्रशिक्षण तथा प्रस्तुतीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको प्राज्ञिक, अनुसन्धानात्मक र व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा आंगिक क्याम्पसका ४४ जना प्रतिनिधिको सहभागिता थियो ।
परियोजनाअन्तर्गत विकास गरिएका विभिन्न १० वटा मोडुलमध्ये मुख्य तीन विषयमा विज्ञहरूले सहजीकरण गरेका थिए ।
कार्यक्रममा मोडुल १० अन्तर्गत ‘जीवनयात्राको सफलताका लागि नेतृत्व र व्यवस्थापन क्षमता’ विषयमा प्रा.डा. विजुकुमार थपलियाले प्रशिक्षण प्रदान गरेका थिए ।
मोडुल ३ अन्तर्गत ‘व्यवसाय र व्यवस्थापन अनुसन्धान’ विषयमा प्रा.डा. जीवनकुमार ढकाल र डा. रमेशबाबु काफ्लेले प्रशिक्षण दिएका थिए ।
त्यसैगरी, मोडुल ८ अन्तर्गत ‘नवप्रवर्तन र अनुसन्धान व्यवसायीकरण’ विषयमा प्रा.डा. कोमलप्रसाद दुलालले प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा कला, कानुन तथा शिक्षा संकायका डीन प्रा.डा. कृष्णप्रसाद पाण्डेले सहभागी तथा प्रशिक्षकहरूलाई स्वागत गर्दै अन्तर्राष्ट्रिय स्तरको यस साझेदारी परियोजनाको प्राज्ञिक महत्व र उद्देश्यमाथि प्रकाश पारेका थिए ।
सो अवसरमा परियोजना संयोजक पुकार चौधरीले परियोजनाको वर्तमान अवस्था, हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराएका थिए ।
तीन वर्षे अवधिको यस बहु–विश्वविद्यालयीय साझेदारी परियोजनामा नेपालका ३, भारतका ३, श्रीलंकाका ३ तथा युरोपेली मुलुकहरू रोमानिया, ग्रीस र आयरल्याण्डका ५ गरी कुल १४ वटा विश्वविद्यालयहरू आबद्ध रहेका छन् ।
वि.सं. २०८१ मंसिरदेखि सुरु भएको यो परियोजना २०८४ मंसिरसम्म सञ्चालन हुनेछ ।
प्रशिक्षण कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पसहरू गिरिजाप्रसाद कोइराला कलेज, जीपी कोइराला कृषि तथा अनुसन्धान केन्द्र, पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य विज्ञान कलेज तथा जनता आदर्श बहुमुखी क्याम्पसका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सक्रिय उपस्थिति थियो ।
View : 122
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved