विराटनगर । कोशी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिक्षादीप कलेज विराटनगरले प्रथम स्थान हासिल गरेको छ ।
प्रि-इन्जिनियरिङ पढाइ हुने संस्था पीईए र मनमोहन प्राविधिक विश्वविद्यालयको संयुक्त आयोजनामा काठमाडौंमा भएको सो प्रतियोगितामा सहभागी ३२ समूहलाई पछि पार्दै शिक्षादीप कलेजबाट सहभागी भएका दुई वटा समूहले नै प्रथम र द्वितीय स्थान हासिल गरेका हुन् ।
विनय प्याकुरेल र गंगाराम अधिकारी (अनमोल)को समूह प्रथम तथा प्रशान्त कार्की र निश्चल आचार्यको समूहले द्वितीय स्थान जितेको हो ।
सो प्रतियोगिताबाट पहिलो र दोस्रो हुनेले नगद पुरस्कार क्रमशः १० हजार रुपैयाँ र पाँचहजार रुपैयाँका साथै कप, शिल्ड प्राप्त गरेका थिए । उनीहरुलाई आयोजक संस्था पीईएले चार वर्षको बीई कोर्षमा पूर्ण छात्रवृत्तिको व्यवस्था समेत गरिदिने घोषणा गरेको छ ।
आगामी महिनामा काठमाडौंमा हुने राष्ट्रव्यापी प्रतियोगितामा कोशी प्रदेशबाट शिक्षादीपका ती दुवै समूहले भाग लिन पाउने छन् । सो प्रतियोगितामा विजयी हुने टोलीले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रदेशस्तरीय हाजिरी जवाफमा प्रथम र द्वितीय स्थान हासिल गरेर कलेजको इज्जत बढाएको भन्दै कलेजले आइतबार विजयी विद्यार्थीहरुलाइ नगदसहित सम्मान गरेको छ ।
प्राचार्य ज्ञानबहादुर खड्का, प्रमुख निर्देशक रमेशकुमार मण्डल, विज्ञान कार्यक्रमका संयोजक नवीनकुमार रायलगायतले दुवै समूहलाई पाँच–पाँच हजार नगदका साथ सम्मान गरेका थिए ।
View : 341
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved