काठमाडौँ, १२ असोज । अविरल वर्षासँगे आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति भएको छ ।
माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरिएको आयोजना कार्यालयले जनाएको छ ।
बाँधका सम्पूर्ण ढोकाहरु खुल्ला गरिएका छन् ।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा क्षति पुगेको आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।
नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोले ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
गौतमले विद्युत्गृह रहेको स्थान गोँगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएकाले कोहीपनि त्यहाँसम्म पुग्न नसकेको बताए ।
कार्यकारी अधिकृत गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायत भौतिक संरचनामा क्षति पुर्याएको अनुमान गरिएको उल्लेख गरे ।
पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ ।
नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीलाई उद्धार गर्न लागिएको भन्दै हालसम्म कुनै मानवीय क्षति भने नभएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो ।
अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा चार सय ६१ क्युमेक छ ।
नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव दुई सय ५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नुपर्ने कार्यकारी अधिकृत गौतमले बताए ।
शुक्रबार दिउँसो ४ बजेदेखि पानीको बहाव दुई सय ५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेदेखि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द गरिएको उनले जानकारी दिए । रासस
View : 100
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved