विराटनगर । त्रिचन्द्र कलेजबाट आइएस्सी सकेर काठमाडौं स्कुल अफ ल मा एलएलबी भर्ना हुँदै गर्दा विश्वदीप बेस्राको लक्ष्य एउटै थियो, वकिल बन्ने । त्यसपछि विभिन्न हिसाबले पीडित भएका सन्थाल समुदायका लागि न्यायिक लडाइ लड्ने ।
किशोरवयका विश्वदीपको त्यसबेलाको लक्ष्य उनले आँखैले देखे–भोगेको अन्यायको परिणाम थियो ।कानुन पढेर वकिल बन्ने सपना साँचेका उनै विश्वदीप अब न्यायाधीश बनेका छन् ।
रौतहट जिल्ला अदालतको जिल्ला न्यायाधीशमा नियुक्त भएसँगै झापाका विश्वदीप सन्थाल समुदायबाट न्यायाधीश बन्ने पहिलो व्यक्ति बन्न पुगेका छन् ।
व्यक्तिगत रुपमा विश्वदीपले न्यायाधीश बन्न पाउँदाको खुसी साँचिरहदा नेपालको न्यायिक इतिहासमा पूर्वको अति सीमान्त समुदायको पनि मूलधारमा प्रतिनिधित्व भएको छ ।
‘एकदमै खुसी छु’, न्यायाधीश बनेपछि उनले भने ‘अब स्वच्छ, निष्पक्ष र पारदर्शी न्याय सम्पादन मेरो प्राथमिकता हुनेछ ।’
झापा र मोरङमा बाक्लो बसोबास रहेको सन्थाल समुदाय नेपालकै अति सीमान्तकृत आदिवासी जनजाति समूहमा पर्दछ ।
न्याय परिषद्को मंगलबारको बैठकले उनीसहित ६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उनीहरू सबैलाई जिल्ला न्यायाधीश नियुक्त गरेसँगै ४० वर्षीय विश्वदीपले फेरि एकपटक समुदायकै पहिलो हुनुको खुसी प्राप्त गरेका छन् ।
उनले यसअघि समुदायकै पहिलो शाखा अधिकृत, समुदायकै पहिलो उपसचिव बनेको खुसी साँच्ने अवसर प्राप्त गरेका थिए । अब समुदायकै पहिलो न्यायाधीश बनेका उनले भने ‘अति सीमान्तकृत समुदायबाट राज्यको मूलधारमा आइपुग्न पाउनु खुसीको कुरा हो । म खुसी छु ।’
सन्थाल समुदाय आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि पारिएको समुदायका रूपमा चिनिन्छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा सन्थाल समुदायको कुल जनसंख्या ५७ हजार ३०१ छ ।
अति सीमान्तकृत समुदायबाट उनले मारेको फड्कोले उनी स्वयम्लाई मात्रै होइन, अरू धेरैलाई हर्षित तुल्याएको छ ।
‘सन्थाल समुदायका करिब ३ प्रतिशत मानिससँग मात्रै आफ्नो जग्गाजमिन छ’ झापाका सन्थाल अगुवा कमलेश मर्डी भन्छन् ‘बाँकी सबै भूमिहीन छन् ।’
विश्वदीप यो मामिलामा ‘भाग्यमानी’ थिए । किनभने, उनको परिवार त्यही ३ प्रतिशतभित्र पथ्र्यो जोसँग झापामा चार बिघा जमिन थियो । बुबा सरकारी स्कुलका शिक्षक थिए ।
झापाको झापा गाउँपालिका वडा नम्बर ४ टाँघनडुब्बाका प्राथमिक शिक्षक बाबु र आमाका छोरा विश्वदीपले गाउँकै स्कुलबाट विद्यालय तह सकेपछि त्रिचन्द्रमा आइएस्सी पढेका थिए ।
त्यसपछि काठमाडौं स्कुल अफ लमा एलएलबी पढे । छात्रवृत्तिमा एलएलबी पढेकै बेला उनले सोचेका थिए, ‘हाम्रो समुदायको जग्गाजमिन अनेक जालझेल गरेर हड्पिएको छ । जग्गा खोसिएको छ । कानुन पढेर आफ्नो समुदायका पीडितहरूको न्यायका लागि लड्छु ।’
स्नातक सकेपछि उनले नेपाल ल क्याम्पसबाट स्नातकोत्तर तह उत्तीर्ण गरे । त्यसपछि उनी सरकारी सेवातिर लागे । त्यो कुनै योजनाबद्ध यात्रा नभएको उनको भनाइ छ ।
‘वकिल बन्छु भन्ने थियो, तैपनि परीक्षा दिउँ न त भनेर दिएको शाखा अधिकृतमा पास भएँ’ न्याय सेवाको कानुन समूहको २०७२ को परीक्षा सम्झदै उनले भने, ‘त्यसपछि यतैतिर व्यस्त भइयो ।’ उनी २०७७ मा उपसचिवमा बढुवा भएका थिए ।
केही समयअघि १० महिना जति कोशीको आन्तरिक मामिला मन्त्रालयमा काम गरेका विश्वदीप अहिले संघीय कानुन मन्त्रालयमा कार्यरत थिए ।
३० प्रतिशत न्यायाधीश नियुक्त गर्न मिल्ने संवैधानिक प्रावधानअनुसार उनी अरू ५ जनासहित न्यायाधीश नियुक्त भएका हुन् ।
वकिल बनेर आफ्नो समुदायको न्यायका लागि लड्ने लक्ष्य बोकेका विश्वदीप अब आफैं न्याय सम्पादन गर्नुपर्ने ठाउँमा पुगेका छन् ।
View : 349
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved