विराटनगर(उस)/उद्योग व्यवसाय क्षेक्रमा आवश्यक दक्ष जनशत्तिको पहिचान, उनीहरूको क्षमता विकास र मर्यादित कार्यस्थल निर्माणका लागि आयोजित दुईदिने मानव संशाधन सम्मेलन सम्पन्न भएको छ । उद्योग संगठन मोरङको आयोजनामा शुक्रबारदेखि सुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले गरेका हुन् । उनले औद्यागिक जनशक्ति विकासका लागि उद्योग र प्राज्ञिक क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । प्राज्ञिक क्षेक्रबाट दक्ष जनशत्ति उत्पादनमा गर्नका लागि उद्योग व्यवसाय क्षेत्रको आवश्यकता पहिचान गर्नुपर्ने बताए । दक्ष जनशक्तिको पहिचान नगरी नगरी निजी क्षेत्र अघि बढ्न नसक्ने र निरन्तरता पनि हुन नसक्ने बताए ।
सम्मेलनका विशिष्ट अतिथि पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. बिजु थपलियाले आवश्यक जनशक्ति उत्पादनका लागि निजी क्षेत्रसँग छलफल गरिने बताए । उनले अन्तर्राष्ट्रिय अनुभव र नेपालको आवश्यकतालाई हेरेर अहिलेको जनशक्तिको क्षमता विकासमा विश्वविद्यालयहरूको समेत योगदान हुन सक्ने बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नीति निर्माण तहमा संगठनले बहस र पैरवी गर्दै आएकोमा अहिले निजी क्षेत्रलाई अझ बलियो बनाउन मानव संशाधनको क्षेत्रमा समेत बहस सुरु गरेको जानकारी दिए । त्यसैका लागि संगठनले पहिलो पटक सम्मेलन आयोजना गरेको बताए ।
सुरानाले वैदेशिक रोजगारीमा मात्र नभई स्वदेशमै उद्योग व्यवसाय क्षेत्रमा समेत सम्मानजनक काम गर्ने वातावरण तयार गर्न, रोजगारीका नयाँ अवसरलाई फैलाउन संगठनले आफ्ना कार्यक्रमलाई रुफान्तरण गर्दै अघि बढेको बताए ।
सम्मेलनमा सहभागीहरूले पहिलो पटक शुल्क तिरेर सहभागिता जनाएका हुन् । उक्त अवसरमा नेपालसहित भारतका बहुराष्ट्रिय कम्पनी, नेपालका प्रतिष्ठित घरानाले मानव संशाधनको व्यवस्थापनमा गरिरहेका राम्रा अभ्यासहरूबारे छलफल गरिएको थियो ।
सम्मेलनमा विश्वविद्यालय र शैक्षिक क्षेत्रबीचको अन्तर सम्वन्ध विकास, उद्योगहरूका लागि आवश्यक दक्ष कामदार उत्पादनमा विश्वविद्यालयको भूमिका, स्थानीय उद्योग व्यवसायलाई आवश्यक जनशक्ति तयार गर्नुपर्ने पाठयक्रमका क्षेत्र लगायत ११ वटा विषयमा कार्यपत्रसहितको छलफल गरिएको उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुडामणि भट्टराईले जानकारी दिए । त्यस्तै दक्ष जनशक्ति विकासमा उद्योगको भूमिका, औद्योगिक प्रशिक्षार्थीहरूले मानव संशाधनका क्षेत्रमा गर्न सक्ने योगदान, अन्तर्राष्ट्रिय मापदण्डहरू परिपालन गर्दा अबलम्बन गर्नुपर्ने गुणस्तरीय व्यवस्थापन प्रणाली, मूल्य अभिबृद्धि श्रृंखला विकास तथा उद्योगमा कार्यरत जनशक्तिको भूमिका लगायत विषयमा प्रस्तुति भएको उनले बताए ।
सम्मेलनमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेका उद्योग प्रतिष्ठानका सञ्चालक, व्यवस्थापक, मानव संशाधन प्रमुख, विभिन्न विश्वविद्यालयहरूका प्राज्ञिक वर्ग, विकास साझेदार संस्थाका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै विकास साझेदार संस्थाहरू आईएलओ, स्विस सरकार विकास सहयोग, जर्मन सहयोग, इन्स्योर हेल्भेटास, एनभिक्यूएसका प्रतिनिधिहरू समेतको सहभागिता रहेको थियो ।
View : 188
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved