Biratnagar, Morang, Nepal
७ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

सुन्दरहरैंचामा भेटियो खैरो हेरोइनको विक्री केन्द्र

प्रहरी भन्छ ‘बरामद गरिएको १० ग्राम खैरो हेरोइन ठूलो मात्रा हो’

उद्‌घोष सम्वाददाता
२ चैत २०८०, शुक्रवार

विराटनगर । लागुऔषध खैरो हेरोइनको खरिद बित्री केन्द्र मोरङको सुन्दरहरैंचा–३ मा फेला परेको छ । अन्तर्राष्ट्रिय बजारमा बढी मूल्यमा बिक्री हुने यो लागुऔषधको कारोबार त्यहाँकी एक महिलाले गर्ने गरेको प्रहरीले जनाएको छ ।

स्थानीय सुनिता राईले प्रतिबन्धित लागुऔषधको कारोबार गर्ने गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले स्थानीयसँग सोधपुछ गरेर प्रमाण संकलन गरेका थिए । स्थानीय धेरै जनाको सूचनापछि बुधबार प्रहरीले छापा मारेर राईलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले राईको घरबाट बेचबिखनका लागि राखिएको खैरो धुलो पदार्थ र नापजोखका लागि राखिएको डिजिटल तराजु पनि बरामद गरिएको बताए । 

राईको घरबाट १० ग्राम खैरो हेरोइन, तीन किलो गाँजा र नगद ५ लाख ३८ हजार २ सय ५० रूपैयाँ फेला परेको छ । बरामद गरिएको १० ग्राम खैरो हेरोइन ठूलो मात्रा भएको प्रहरीको भनाइ छ ।

लागुऔषध नापजाँचमा प्रयोग गर्न राखिएका दुई थान तराजु पनि प्रहरीले फेला पारेको छ । लागुऔषधको कारोबारका बारेमा जानकारी लिन स्थानीयको घरघरमा पुगेको प्रहरीले राई आफूपनि लागुऔषधको प्रयोगकर्ता भएको सूचना पाएपछि घरमा छापा मारेको थियो ।

श्रीमान् भारतमा बस्ने भएकाले राई सहयोगीहरूको समर्थनमा कारोबार गर्दै आएकी थिइन् । सोही दिन बुधबार सुन्दर हरैंचाबाटै तीन युवा लागुऔषध सहित पक्राउ परेका छन् । 

पक्राउ पर्ने युवाको राईसँगको सम्बन्ध भए नभएको प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा २३ वर्षीय प्रज्वल सुबेदी, २० वर्षीय आशिष ठाकुर र २४ वर्षीय संगम आचार्य छन् ।

View : 818

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved