विराटनगर । गाउँ कार्यपालिका बैठकले पारित नै नगरेको विधेयकलाई पारित भएको भन्दै गाउँ सभाबाट बाँडेपछि प्रश्न उठाउने दुईजना वडाध्यक्षलाई मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले ‘अनुशासन उल्लङ्घन गरेको’ अभियोग लगाउँदै गाउँसभामा सात दिन उपस्थित हुन नपाउने आदेश दिएका छन् ।
शुक्रबार आयोजित गाउँसभामा अध्यक्ष माझीले पासै नभएको विधेयकहरु पास भइसकेको र नीति तथा कार्यक्रम कार्यपालिकाबाट पास नगरी गाउँसभामा पेश गरेको भन्दै वडा नम्बर १, ५ र ७ का वडाध्यक्षहरुले प्रश्न गरेका थिए ।
तर पालिका अध्यक्ष माझीले भने गाउँसभाको अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै वडा नम्बर ५ र ७ का वडाध्यक्षहरुलाई सभाबाट निकाल्न पहिल्यै बोलाइएका प्रहरीलाई आग्रह गरे । त्यसको विरोधमा वडाध्यक्षहरु उत्रिएपछि उनले कारवाहीको डण्डा चलाएका हुन् ।
गाउँसभामा आफ्नो गैरकानुनी कदमको विरोध भएपछि माझी आफैं सभा हलको ढोकामा पुगेर गाउँसभाका सदस्यहरु माथि औंला ठड्याउँदै अमर्यादित रुपमा प्रस्तुत भएका थिए ।
माझी गाउँसभाका सदस्यहरुको प्रश्नको जवाफ दिनुको साटो गाउँसभाको बैठक नै स्थगित गर्दै बाहिरिने क्रममा तीन जना वडाध्यक्षमाथि कारवाही गरेको घोषणा गरेपछि विवाद चर्किएको थियो । आफूसँग विवाद गरेको र अनुशासन उल्लंघन गरेको आरोपमा उनले उल्टै वडाध्यक्षहरुलाई निस्कासित गरेका छन् ।
निस्कासित हुनेमा गाउँपालिकाको प्रवक्ता समेत रहेका वडा नम्बर ७ का अध्यक्ष विरेन्द्र चौधरी र ५ नम्बरका अध्यक्ष भेष नारायण चौधरी छन् । उनीहरु दुवै एमालेबाट निर्वाचित हुन् ।
‘प्रस्तुत विषयमा आज मिति २०८२ साल असार २७ गते १७ औं गाउँसभाको तेस्रो बैठक सञ्चालन भई रहेको अवस्थामा यस ग्रामथान गाउँपालिकाको गाउँ सभाका तपशिल बमोजिमका सदस्यहरुले अनुशासन भंग गरेको, अपमानजनक शब्द प्रयोग गरेको र सभाको प्रतिष्ठामा धक्का लाग्ने किसिमको कार्य गरेकोले ग्रामथान गाउँपालिका सभा सञ्चालन कार्यविधि, २०७४ को दफा १६ को (४) अनुसार सात दिनसम्मको लागि निजहरुलाई सभामा आउन नपाउने गरि आदेश जारी गरिएको छ’ अध्यक्षले जारी गरेको आदेशमा भनिएको छ ।
गएको मंसिरमा भएको उपनिर्वाचनमा माओवादीबाट अध्यक्ष जितेका माझीले एमालेका वडाध्यक्षमाथि अनुशासनको कारबाही गरेका हुन् ।
अध्यक्षलाई प्रश्न गरेकै कारण आफूहरुलाई यस्तो कारबाहीको घोषणा भएको भन्दै दुवै वडाध्यक्षले यसको कानुनी उपचार खोज्ने बताएका छन् ।
यसअघि उपाध्यक्ष गुणवती थारुसहितका एमालेका जनप्रतिनिधिको गाडी खोसेका, उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहक दिएका माझीले कोरम नपुर्याई कार्यपालिका बैठकबाट निर्णय पनि गराएका थिए ।
पटकपटक आफूखुसी निर्णय गराएका उनको कदमलाई अदालतले पटकै पिच्छे अंकुश लगाउँदै आएको छ ।
यसपटक गाउँसभामा एमालेका दुई वडाध्यक्षलाई बैठकमा बस्नै प्रतिबन्ध लगाएपछि ग्रामथानको गाउँसभा फेरि स्थगित भएको छ । अध्यक्ष माझीका कारण ग्रामथानले अहिलेसम्म बजेट ल्याउन सकेको छैन ।
ग्रामथानको कार्यपालिका र गाउँसभामा कांग्रेस र एमालेको बहुमत छ । माझीले अन्य दलहरुसँग समन्वय गरी नेतृत्व गर्नुको साटो बारम्बार गैरकानुनी निर्णय गर्दै विवादित हुने गरेका छन् ।
View : 722
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved