Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सीप उत्सव गर्दै उद्योग संगठन

उद्‌घोष संवाददाता
२९ जेठ २०८३, शुक्रवार

Advertisement

विराटनगर । उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको दक्षताको अन्तरका साथै सीप विकासका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजनामा सीप उत्सव २०८३ हुने भएको छ । 

स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर र हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा जेठ ३१ गते आइतबार उद्योग संगठन मोरङको सचिवालयमा हुने उत्सवमा अन्तरशिक्षालय सीप प्रतियोगिता, लाइभ तालिम, वृत्ति परामर्शका गतिविधि सञ्चालन गरिनेछ । 

सोही दिन अपराह्न अन्तिम चरणको सीप प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगीहरूलाई पुरस्कार प्रदान गरिने संगठनले जनाएको छ । 

उत्सवले तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान, सरकारी निकाय तथा प्रशिक्षार्थीबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, रोजगारीका अवसरको सुनिश्चितता तथा स्वदेशमै रोजगारीका सम्भावना रहेको सन्देश प्रवाह गर्ने उद्योग संगठन मोरङका अध्यक्ष्ँ नन्दकिशोर राठीले वताए ।

उनले उत्सवले स्वदेशमा रहेको सीप विकासका अवसरबारे जानकारी गराउनुका साथै प्राविधिक शिक्षा तथा  उद्यमशीलता कार्यक्रमको महत्वबारे सचेतना अभिवृद्धि गर्न र सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 

बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने सो उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन तथा अटोमोवाइलको विधामा सीप प्रतियोगिताका साथै माटाको भाडावर्तन, प्लम्बिङ, औद्योगिक अटोमेशन, सीसीटीभी, थ्रिडी प्रिन्टिङ, ग्रिन स्किलका  विधामा प्रत्यक्ष तालिम  सञ्चालन हुनेछ ।

यसैगरी  विद्यार्थी तथा युवाहरूका लागि करियर काउन्सेलिङ र वृत्ति परामर्श सत्र सञ्चालन गर्ने  संगठनका कार्यसमिति सदस्य एव मानव संशाधन विकास समितिका संयोजक दीपक अग्रवालले वताए । 

उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, अटोमोबाइल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधि, प्राविधिक शिक्षालय, सूचना प्रविधि, आतिथ्यता (हस्पिटालिटी) क्षेत्रका प्रदेश तथा जिल्लास्तरका विभिन्न संघसंस्थाहरूको सहभागिता रहने संयोजक अग्रवालले जानकारी दिए ।

View : 186

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved