विराटनगर । गाउँ कार्यपालिका बैठकको नाममा मनोमानी निर्णय गर्ने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीलाई उच्च अदालतले अर्को ‘ब्रेक’ लगाइदिएको छ ।
अध्यक्ष माझीले गत जेठ १ गते कार्यपालिकाको बैठक भन्दै आफूखुसी ११ वटा निर्णय गरी कार्यान्वयनका लागि कर्मचारीलाई दवाव दिएपछि उपाध्यक्ष गुणावती देवी थारुले अन्तरिम आदेशको माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि सोमबार दुवै पक्षको सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वय विमल सुवेदी र कृपासुर कार्कीको इजलासले अध्यक्ष माझीले गरेको उक्त एकल निर्णय रिट निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।
निर्वाचित भएदेखि नै विवादित छवि बनाएका अध्यक्ष माझीले कार्यपालिकाको बैठकमै निर्णयमाथि चित्त नबुझे अदालत जानु भन्दै धम्की दिंदै आएका थिए ।
माझीले यसअघि पनि अन्य जनप्रतिनिधिसँग समन्वय नगरी आफूखुसी निर्णय गर्ने गरेका कारण अदालतले ब्रेक लगाउँदै आएको छ ।
पछिल्लो पटक जेठ १ मा गाउँ कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यहरूसँग विवाद भएपछि माझी बैठक छाडेर बाहिरिएका थिए ।
अध्यक्ष नै बैठक छाडेर हिंडेका कारण उपाध्यक्ष थारूसहित कार्यपालिकाका अन्य सदस्यहरूले निर्णय पुस्तिाकामा ‘कुनै निर्णय हुँदा हाम्रो मान्य हुने छैन’ भन्ने लेखेर हस्ताक्षर गरी हिंडेका थिए । तर माझीले सोही बैठकको दोस्रो सत्रको उपस्थिति देखाएर ११ वटा निर्णय गरेका थिए ।
उक्त निर्णय अवैधानिक भएको भन्दै गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारूले सोमबार उच्च अदालतमा अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दायर गरेकी थिइन् ।
रिटको प्रारम्भिक सुनुवाईमा उच्च अदालत विराटनगरका न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले माझीविरुद्ध कारण देखाउ आदेश दिंदै सोमबारका लागि दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दिएको थियो ।
View : 492
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved