Biratnagar, Morang, Nepal
१७ असार २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

यस कारण सागर थापाले मुख्यमन्त्री कार्कीलाई एयरपोर्टमै स्वागत गरे

‘यत्रो मुद्दा जितेको, जाउँ न एयरपोर्ट भेटेर बधाई दिउँ भन्ने लाग्यो त्यही भएर गएको हो । कुनै वैरी होइनन्, पार्टीकै नेता हुन् जाँदा सम्बन्ध सुमधुर हुन्छ भनेर गएको हो ।’
उद्घोष सम्वाददाता
१४ असार २०८१, शुक्रवार

विराटनगर । नेकपा एमाले मोरङले निलम्बन गरेको भनिएका महानगर कमिटी अध्यक्ष सागर थापाले बिहीबार विराटनगर विमानस्थलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्वागत गरेका छन् । मुख्यमन्त्री कार्कीलाई थापाले यस पटक समय मिलाएरै दलबलसहित एयरपोर्टमा स्वागत गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेशका मुख्यमन्त्रीमा पुनः हिक्मतकुमार कार्कीको विजय भएको उल्लेख गर्दै थापाले एयरपोर्टमा उनको स्वागत गरेको फोटोहरू पोस्ट गरेका छन् । स्रोतका अनुसार काठमाडौंमा खानपान नमिलेर पखाला लागेका मुख्यमन्त्री कार्कीलाई थापालगायतको समूहले एयरपोर्टमा हतार–हतारमै स्वागत गरेको हो ।

मुख्यमन्त्री कार्की नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन् । त्यस्तै मोरङ जिल्ला इञ्चार्ज पनि हुन् । पछिल्लो पटक नेकपा एमाले मोरङमा पार्टी इञ्चार्जसमेतले थाहा नपाएको निलम्बन र स्पष्टीकरण प्रकरण सतहमा आएको छ ।

विराटनगरको केही वडावासी लाभान्वित हुने मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लगाएर गत जेठ ३१ गते एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापालगायत कमिटीका केही पदाधिकारी र सदस्यलाई निलम्बन र स्पष्टीकरणको पत्र थपाइएको छ । कारवाहीको पत्र मोरङ पार्टीका अध्यक्ष बाबुराम कार्कीले थमाएका हुन् ।

पत्र दिएपछि कार्कीले केही अन्तर्वार्ताहरूमा पार्टीको उपल्लो तहकै नेताहरूको सरसल्लाहमा थापालगायतलाई कारवाहीको पत्र थमाएको बताएका छन् । तर उपल्लो तह भनिए पनि  पार्टीकै जिल्ला इञ्चार्ज तथा मुख्यमन्त्री कार्कीले कारवाहीको विषयमा आफूलाई कसैले एक वचन नसोधेको ढंगले अभिव्यक्ति दिने गरेको थापानिकट एक एमाले कार्यकर्ता बताउँछन् । आफूलाई रामोराम थाहा छैन भनेर कार्कीले कारवाही गरेका भनिएका थापालाई यस विषयमा धेरै ल्याङल्याङ नगर्न भनेको उनी बताउँछन् ।

उनका अनुसार, केही दिनअघि कार्कीले आफू मुद्दाका कारण सर्वोच्च अदालतलगायतका अड्डा अदालतमा व्यस्त हुनुपरेकाले फुर्सद पाउनसाथ मोरङ पार्टीमा देखिएको समस्यामा ध्यान दिने बताएका थिए ।

कार्कीको सोही वचनका कारण उनी विराटनगर फर्किनासाथ स्वागत तथा सम्मानका लागि खादा लिएर थापाको समूह एयरपोर्ट पुगेको बुझिएको छ । ‘यो चाप्लुसी हो कि बैगुनीलाई गुन तिरेको ?’ उद्घोष दैनिकको प्रश्नमा थापाले चाकडी–चाप्लुसी केही नभएको बताए ।

‘यत्रो मुद्दा जितेको, जाउँ न एयरपोर्ट भेटेर बधाई दिउँ भन्ने लाग्यो त्यही भएर गएको हो । पार्टीकै नेता हुन् कुनै वैरी होइनन्, जाँदा सम्बन्ध सुमधुर हुन्छ भनेर गएको हो’ थापाले भने ।

यो कारवाही प्रकरणलाई लिएर पछिल्लो समय थापासँग मुख्यमन्त्री कार्कीले कुनै बेला मध्यस्थकर्तासहित त कुनै बेला ‘वान टु वान’ भेटघाट गरेको बुझिएको छ । यस्तो भेटघाट बिहान–दिउँसोभन्दा साँझतिर बढी हुने गरेको स्रोतको दावी छ ।

View : 212

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved