विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–४ नेमुवा चोक नजिकै भारतीय नम्बर प्लेटको लरी पल्टिँदा तीन बालबालिकाको ज्यान गएको छ । भारतबाट मार्बलको ब्लक लिएर आएको आरजे २९ जीबी १५६१ नम्बरको लरी सडक छेउमा रहेका घरमा पल्टिँदा किचिएर बालबालिकाहरूको मृत्यु भएको हो ।
शुक्रवार बिहान करिब ८ बजेतिर भएको दुर्घटनापछि प्रहरीले दुर्घटना स्थलबाट घाइतेहरूको उद्धार गर्ने प्रयास गरे पनि मार्बलको ब्लकले किचिएर बालबालिकाहरूको मृत्यु भएको जनाइएको छ ।
बूढीगंगा–४ प्रगति टोलमा ५५ वर्षीय ज्योति अधिकारीका जुल्याहा छोराछोरीको सुतिरहेकै ठाउँमा किचिएर मृत्यु भएको छ । मृत्यु हुनेमा चार वर्षीया इसिता अधिकारी र निशान्त अधिकारी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अधिकारीको घरमा रहेको पसलमा आएकी ७ वर्षीया रिया खवासको समेत लरीबाट खसेको मार्बलले किचेर मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा मार्बलको ब्लकले किचेर ज्योति अधिकारी समेत घाइते भएका छन् । उनको खुट्टा लरीले किचेको हो । प्रहरीले क्रेनको सहायताले मार्बलको ब्लक पन्छाएर उनलाई उद्धार गरी थप उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको मोरङ प्रहरीले जनाएको छ ।
कोयलपुरस्थित अन्नपूर्ण मार्बल उद्योगको कच्चा मार्बल ब्लक लिएर आएको भारतीय नम्बर प्लेटको लरी सडकमा फसेपछि बिजुलीको पोललाई ठक्कर दिँदै दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि लरी चालक फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
View : 4214
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved