विराटनगर : कोशी प्रदेश सभाको बैठकले अघिल्लो मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट अध्यादेश स्वीकृत गरेको छ । प्रदेश सभाले २०८० मंसिर १६ गतेभित्र अध्यादेश पारित नगरे अघिल्लो पटक झैं कोशी प्रदेशमा बजेट होलिडे हुने अवस्था थियो ।
सोमबार बसेको प्रदेश सभाको बैठकले ‘प्र्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले स्वीकृत गरेको हो ।
दुवै अध्यादेश अस्वीकृत गर्न प्रदेश सभाका सदस्यहरु भूपेन्द्र राई, नारायणबहादुर मगर र खिनु लङ्वा लिम्बूले प्रदेश सभामा पेश गरेको सूचना फिर्ता लिएपछि सरकारको तर्फबाट विनाबिभागीय मन्त्री गणेशप्रसाद उप्रेतीले अध्यादेश स्वीकृतका लागि निर्णयार्थ पेश गरेका थिए ।
प्रदेशसभा सदस्य बुर्जा मगरले अध्यादेश अस्वीकृतको सूचना दर्ता गरे पनि अहिले फिर्ता लिनु परेको बताए । उनले कहिले अध्यादेश स्वीकार गर्नुपर्ने, कहिले नगर्नुपर्ने राजनीतिक खेलको सिकार भएको गुनासो गरे ।
मन्त्री उप्रेतीले कोशी प्रदेशमा पहिलो पटक बजेट होलिडेको अवस्था समेत व्यहोरिसकेको र पुनः दोस्रो पटक पनि त्यस्तो अवस्था आउन नदिन सरकारको तर्फबाट दुवै अध्यादेश स्वीकृतिका लागि पेश गरेको बताए ।
‘हाल दोस्रो पटक अध्यादेशबाट बजेट आएको छ, यसलाई २०८० मंसिर १६ गतेभित्र पारित र प्रमाणिकरण नगरेमा फेरी बजेट होलिडे हुने अवस्थाको हुनेछ’ मन्त्री उप्रेतीले भने, ‘अहिलेको अध्यादेश पारित भएपछि प्रदेश सरकारले प्रतिस्थापन विधेयक सभामा पेश गरी समय सिमाभित्रै प्रमाणीकरण हुने अपेक्षा गरेको छ ।’
प्रस्तुत अध्यादेश निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले पारित भएको उपसभामुख सृजना दनुवारले घोषणा गरिन् ।
यसैबीच कोशी प्रदेश सभामा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि टेबुल गरिएको छ ।
विनाबिभागीय मन्त्री शम्शेर राईले दुवै अध्यादेश प्रदेश सभामा टेबुल गरेका हुन् । उनले संघीयताको कार्यन्वयनका लागि कर्मचारी व्यवस्था र उनीहरुको सेवा शर्तहरुबारे देखिएका अप्ठेरोहरु अन्त्य गर्न विधेयक टेबुल गरिएको बताए ।
View : 122
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved