काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न सरकारले गठन गरेको समितिले काम थालेको छ । समिति संयोजक टंकमणि शर्मा दंगालले आइतबार विज्ञप्ति जारी गर्दै ३० दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले दिएको कार्यादेशअनुसार काम थालिएको जनाएका हुन् ।
बहुराष्ट्रिय कम्पनी एनसेलको ८० प्रतिशत शेयर मलेसियन लगानीकर्ता कम्पनी आजियाटाले बेलायतमा बिक्री गरेको खबर बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा बैठक गरेका थिए । बैठकलगत्तै सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को गत बिहीबारको निर्णयानुसार एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा, प्रचलित नेपाल कानूनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असर लगायतका विषयमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन भई कार्यादेश प्राप्त भएको शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्ययन तथा छानबिन समितिले आइतबारदेखि नै काम थालेको उनले उल्लेख गरेका छन् । कार्यदेशभित्र रही तोकिएको समयसीमाभित्र समितिले अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने पनि विज्ञप्तिमा जनाइएको छ ।
समितिले सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने भएको छ । साथै कागजात तथा जानकारी प्राप्त गर्न सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिहरूसँग समेत आवश्यकताअनुसार छलफल गरी राय सुझाव लिने भएको छ ।
View : 135
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved