Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विकास पोद्दार स्मृति छात्रवृत्ति प्रदान

उद्‌घोष संवाददाता
१३ पुष २०८२, आइतवार

नयाँ बजार । मोरङको कटहरी गाउँपालिका–४ स्थित ‘विकास पोद्दार स्मृति परिषद्’ ले दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिसहित सम्मान गरेको छ । 

स्वर्गीय विकास पोद्दारको स्मृतिमा आयोजित कार्यक्रममा उनीहरूलाई नगद र प्रमाणपत्र प्रदान गरिएको हो ।

सम्मानित हुनेहरूमा विराटनगरस्थित सेन्ट जोसेफ माध्यमिक विद्यालय (कक्षा १०) का छात्र वरदान केसी र कटहरी–४ स्थित भगवती आधारभूत विद्यालय (कक्षा ७) की छात्रा सुकुमारी किस्कू रहेका छन् । केसीलाई नगद २१ हजार रुपैयाँ र किस्कूलाई नगद ११ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, वडा नं. ४ का वडाध्यक्ष जीवनेश्वर यादव र समाजसेवी शम्भु शाहले सम्मान प्रदान गरे ।

सोही अवसरमा परिषद्का अध्यक्ष तथा संरक्षक देवानन्द पोद्दारले संस्थाको नाममा कटहरी–५ मा रहेको ६ कठ्ठ जग्गा दान गरेको जानकारी दिइयो । 

गाउँपालिका अध्यक्ष चौधरीले स्मृति परिषद्को सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिकाको बजेटबाट आवश्यकता अनुसार आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कटहरी–४ नयाँ बजारका स्थायी बासिन्दा विकास पोद्दार एक अत्यन्तै जेहेन्दार विद्यार्थी थिए । कक्षा १ देखि स्नातकसम्म सधैं प्रथम हुने उनी उच्च शिक्षाका लागि जर्मनी पुगेका थिए । 

तर, २०७९ पुस १२ गते कोरोना महामारीका कारण जर्मनीमै उनको अल्पायुमा निधन भएको थियो । उनको अभावमा कटहरी गाउँपालिका मर्माहित भएको वडाध्यक्ष जीवनेश्वर यादवले स्मरण गरे ।

View : 159

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved