Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशको पहिलो लगानी सम्मेलन सर्यो, बैशाखमा गर्न प्रस्ताव

उद्‌घोष सम्वाददाता
२५ पुष २०८१, बिहिवार

विराटनगर । आवश्यक तयारी नपुगेको भन्दै कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको पहिलो प्रदेशस्तरीय लगानी सम्मेलन सारिएको छ । बुधबार बसेको लगानी सम्मेलन निर्देशक समितिको बैठकले आगामी बैशाख महिनामा गर्ने प्रस्ताव गरिएको जनाइएको छ ।

लगानी सम्मेलनको आगामी माघ ११ गतेदेखि विराटनगरमा गर्ने गरी सरकारले तयारी अघि बढाएको थियो । लगानी सम्मेलनको व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रको एउटा संस्थालाई मात्रै दिन लागेको भन्दै अन्य संघसंस्थाले विरोध गर्दै राजनीतिक लविङ चर्काएपछि सम्मेलन अनिश्चित बनेको थियो ।

माघ ११ गतेदेखि उद्योग संगठन मोरङले आयोजना गर्न  लागेको विराट एक्स्पोकै एउटा सुविधा सम्पन्न डोम प्रयोग गरेर सम्मेलन गर्न खोजिएको थियो । तर त्यसप्रति विरोध सुरु भएपछि प्रदेश सरकारले तयारीको कारण देखाएर लगानी सम्मेलन बैशाखमा सारेको हो । 

व्यवस्थापनको तयारी नपुगेकाले बैशाखतिर गर्ने गरी लगानी सम्मेलन सारिएको कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले जानकारी दिए । उनले केहिदिनभित्रै सम्मेलनको नयाँ मिति घोषणा हुने बताए ।

लगानी सम्मेलनको आयोजनाका लागि प्रदेश लगानी प्राधिकरणलाई सरकारले जिम्मेवारी दिइसकेको छ । प्राधिकरणले ३७ वटा आयोजनालाई लगानीको सोकेसमा राख्ने तयारी अघि बढाएको हो । ती आयोजनाको कुल लागत १ खर्ब ४ अर्ब ८५ करोड रहेको छ । 

लगानी सम्मेलनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन भइसकेको थियो । सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गर्ने सरकारको तयारी छ ।

लगानी भित्र्याउन प्रदेश सरकारले संघ र स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्दै प्रदेशले गर्नुपर्ने कानून संशोधन अघि बढाउँदैछ ।

सरकारले सवैभन्दा धेरै पर्यटन क्षेत्रका ११ वटा परियोजनालाई आयोजना सोकेसमा समावेश गरेको छ । लगानी प्राधिकरणका अनुसार उद्योगमा ८, पूर्वाधार विकासमा ७, कृषि क्षेत्रमा ६, उर्जामा २, सूचना प्रविधिमा २ र शहरी फोहोर व्यवस्थापनमा १ वटा आयोजना ‘सोकेसिङ’ भएका छन् । 

सरकारले लगानी सम्मेलनमार्फत कम्तिमा १ खर्ब बढिको ‘एमओयू’ हुने दाबी गर्दै आएको छ ।

View : 68

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved