सुनसरी । स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई झण्डै साढे ३ लाख रुपैयाँ नाफा भएको छ । आयोजक द योङ् ब्रदर्श क्लब इटहरीले गत माघ १३ देखि २० गतेसम्म आयोजना गरेको गोल्डकपको बिहीबार खर्च विवरण सार्वजनिक गर्दै तीन लाख ३१ हजार ६ सय रुपैयाँ बचत गर्न सफल भएको जानकारी गराएको हो ।
मोफसलमा हुने अधिकांश गोल्डकपहरुको घाटामा जाने तथा खर्च विवरण सार्वजनिक नभइरहेको अवस्थामा आयोजकले स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप सम्पन्न भएको दुई सातामै आयव्यय सार्वजनिक गरेको हो ।
प्रतियोगिता विभिन्न क्षेत्रबाट सहयोग स्वरुप १९ लाख ४५ हजार आम्दानी भएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख १३ हजार रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
प्रतियोगिताको लागि बिभिन्न देशमा रहेका क्लवका शुभचिन्तकहरुबाट ५ लाख ५० हजार, इटहरी क्षेत्रका बिभिन्न संघ संस्था र ब्यक्तिहरुबाट १० लाख पैतालिस हजार, इटहरी उपमहानगरपालिकाबाट २ लाख ५० हजार र कोशी प्रदेश खेलकुद बिकास बोर्डबाट एक लाख रुपैयाँ गरी जम्मा १९ लाख ४५ हजार रुपैयाँ आम्दानी भएको प्रतियोगिता संयोजक विकास केसीले जानकारी दिए ।
प्रतियोगितामा विजेता तथा उपविजेतालाई नगद पुरस्कारतर्फ ४ लाख रुपैयाँ खर्च भएको छ । यस्तै खेलाडी तथा रेफ्री भत्ता र यातायातमा ५ लाख ५० हजार रुपैयाँ खर्च भएको क्लबले जनाएको छ । एक सातासम्म चलेको प्रतियोगितामा तेह्रथुमको बीटीएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब) ले उपाधि जितेको थियो । प्रतियोगितामा कोशी प्रदेशका ८ खेल टोलीको सहभागिता थियो ।
View : 120
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved