Biratnagar, Morang, Nepal
२८ फागुन २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

दुई दशकको प्रतिक्षापछि पूविमा एमबीबीएस कक्षा सुरु

सरकारले एमबीबीएस कार्यक्रममा भर्नाका लागि ५० वटा सिट उपलब्ध गराएपछि विश्वविद्यालयले पहिलो पटक चिकित्सा शिक्षाको स्नातक तहको पढाइ सुरु गरेको हो ।
उद्‌घोष संवाददाता
२८ फागुन २०८२, बिहिवार

सुनसरी । चिकित्सा शिक्षाको स्नातक तह सुरु गर्ने पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को झण्डै दुई दशकदेखिको प्रयास बल्ल सफल भएको छ । लामो समयको प्रतीक्षा, पूर्वाधार निर्माण र सरकारी प्रक्रियाका विभिन्न चरण पार गर्दै विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनमा ल्याएको हो । 

मंगलबारदेखि औपचारिक रूपमा एमबीबीएस कक्षाको पठनपाठन सुरु भएसँगै पूर्वाञ्चल क्षेत्रमै चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु भएको विश्वविद्यालयले जनाएको छ । 

सरकारले एमबीबीएस कार्यक्रममा भर्नाका लागि ५० वटा सिट उपलब्ध गराएपछि विश्वविद्यालयले पहिलो पटक चिकित्सा शिक्षाको स्नातक तहको पढाइ सुरु गरेको हो । 

स्थापना भएको तीन दशकपछि विश्वविद्यालयमा चिकित्सा शिक्षा औपचारिक रूपमा सुरु हुनु आफैमा महत्वपूर्ण उपलब्धि मानिएको विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलियाले बताए । 

पूर्वाञ्चल विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि २०६२ सालदेखि नै प्रक्रिया अघि बढाएको थियो । 

त्यसबेला विश्वविद्यालयले एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा सञ्चालन गरी पाँच सय २० जना विद्यार्थी समेत छनोट गरेको थियो । तर मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा तीन सय शैयाको आफ्नै शिक्षण अस्पताल अनिवार्य हुनुपर्ने सरकारी व्यवस्था लागू भएपछि विश्वविद्यालयको योजना तत्काल अघि बढ्न सकेन । 

त्यसपछि विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माण र अस्पताल व्यवस्थापनका लागि विभिन्न विकल्प खोज्दै प्रक्रिया अगाडि बढायो । 

लामो प्रयासपछि तीन वर्षअघि विश्वविद्यालयले तीन सय ३० शैयाको कोशी अस्पतालसँग शिक्षण अस्पतालका रूपमा सहकार्य गर्ने सम्झौता गरेको थियो । 

त्यस्तै विश्वविद्यालयले एक सय शैयाको आफ्नै अस्पताल पनि सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयको भौतिक पूर्वाधार, अस्पताल, प्रयोगशाला, जनशक्ति र शैक्षिक तयारीको निरीक्षण गरी त्यससम्बन्धी प्रतिवेदन दुई वर्षअघि नै शिक्षा मन्त्रालयमा बुझाएको थियो । 

तर मेडिकल कलेज सञ्चालनका लागि अन्तिम अनुमति दिने सरकारी प्रक्रियामा ढिलाइ हुँदा कक्षा सञ्चालन हुन सकेको थिएन । 

गत साउन दोस्रो साता आयोगको टोलीले पुनः अन्तिम अनुगमन गरेपछि भने सरकारले एमबीबीएस कार्यक्रममा ५० विद्यार्थी भर्ना गर्ने अनुमति दिएको हो । 

यससँगै लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ्दै विश्वविद्यालयले कक्षा सञ्चालन सुरु गरेको विश्वविद्यालयका उपकुलपति प्राडा थपलियाले बताए ।

सबै पक्षको साथ र सहयोगले विश्वविद्यालयमा चिकित्सा शिक्षाको स्नातक तह सुरु गर्न सफल भएको बताउँदै थपलियाले विश्वविद्यालयमा आवश्यक पूर्वाधार, प्रयोगशाला, दक्ष जनशक्ति र अस्पताल व्यवस्थापनका लागि चाहिने सबै तयारी पूरा गरेको जानकारी दिए । 

चिकित्सा शास्त्र संकायका डिन डा. शैलेसमणी पोखरेलले दुई दशकको प्रयासपछि एमबीबीएस कक्षा सञ्चालनमा आएको बताउँदै यसले चिकित्सा शिक्षाको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । 

‘पूर्वाञ्चल क्षेत्रमा गुणस्तरीय चिकित्सा शिक्षा विस्तार गर्ने र दक्ष चिकित्सक उत्पादन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने । 

सरकारको निर्णयसँगै पहिलो पटक मंगलबारदेखि एमबीबीएस अध्ययन सुरु भएपछि विद्यार्थीमा पनि उत्साह देखिएको छ । 

विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूले विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाउँदा खुसी व्यक्त गरेका छन् । उनीहरूलाई मंगलबार नै एक कार्यक्रमको आयोजना गरी एप्रोन तथा ब्याच वितरण गरिएको छ । 

रुकुम पश्चिमकी सपना ओलीले पहिलो ब्याचमै एमबीबीएस अध्ययन गर्ने अवसर पाउँदा आफू अत्यन्त उत्साहित भएको बताइन् । 

‘लामो समयदेखि चिकित्सक बन्ने सपना थियो । पूर्वाञ्चल विश्वविद्यालयमै यस्तो अवसर पाउँदा धेरै खुसी लागेको छ,’ उनले भनिन् । 

मेडिकल कलेज सञ्चालनमा आएसँगै पूर्वाञ्चल क्षेत्रमा चिकित्सा शिक्षाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । 

हालसम्म एमबीबीएस अध्ययनका लागि अधिकांश विद्यार्थी काठमाडौं वा निजी मेडिकल कलेजतर्फ जानुपर्ने अवस्था रहेको थियो । 

नयाँ कार्यक्रम सञ्चालनसँगै विद्यार्थीले तुलनात्मक रूपमा कम शुल्कमा अध्ययन गर्ने अवसर पाउने विश्वास गरिएको छ । 

साथै यसले कोशी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न पनि दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले बताए । 

विश्वविद्यालयको सेवा विस्तार हुँदै जाँदा स्थानीय बासिन्दाले पनि विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्नेमा नगरवासी विश्वस्त रहेको गुरागाईको भनाई छ । 

झण्डै दुई दशकको प्रयासपछि सुरु भएको एमबीबीएस कार्यक्रमलाई पूर्वाञ्चल विश्वविद्यालयका लागि मात्र होइन, सम्पूर्ण पूर्वाञ्चल क्षेत्रकै चिकित्सा शिक्षा विकासको महत्वपूर्ण कदमका रूपमा हेरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठले बताए । 

विश्वविद्यालयले आगामी वर्षहरूमा एमडी÷एमएस लगायतका उच्च तहका चिकित्सा कार्यक्रमहरू समेत सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । 

साथै शिक्षण अस्पतालको क्षमता विस्तार, अनुसन्धान गतिविधि वृद्धि र अन्तर्राष्ट्रिय सहकार्य बढाउने तयारी पनि भइरहेको बताइएको छ ।

View : 58

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved