Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधि सभा निर्वाचन

यी हुन् झापा र मोरङमा हुन लागेका ७ वटा रोचक प्रतिष्पर्धा

प्रमुख दलका शीर्ष नेता, प्रभावशाली पद, राजनीतिक ओहोदा, लोकप्रियता र नयाँ–पुराना पुस्तालाई एउटै मैदानमा उतारिदिएका कारण कोशी प्रदेशको चुनावी राजनीति अत्यन्तै रोचक बन्ने देखिएको छ । विशेष गरी झापा र मोरङमा हुन लागेका सातवटा प्रमुख चुनावी भिडन्त राजनीतिमा रुचि राख्ने र आम मतदाताका लागि समेत रोचक हुने देखिएको छ ।
उद्‌घोष संवाददाता
७ माघ २०८२, बुधवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेश यसपटक देशकै सबैभन्दा चर्चित उम्मेदवारहरूका कारण चुनावी बृत्तमा चासोको केन्द्र बनेको छ । केही चुनावी प्रतिष्पर्धाहरूलाई देशकै राजनीति पर्दाको रोचक भिडन्त उन्मुख बनाइदिएको छ ।

प्रमुख दलका शीर्ष नेता, प्रभावशाली पद, राजनीतिक ओहोदा, लोकप्रियता र नयाँ–पुराना पुस्तालाई एउटै मैदानमा उतारिदिएका कारण कोशी प्रदेशको चुनावी राजनीति अत्यन्तै रोचक बन्ने देखिएको छ । विशेष गरी झापा र मोरङमा हुन लागेका सातवटा प्रमुख चुनावी भिडन्त राजनीतिमा रुचि राख्ने र आम मतदाताका लागि समेत रोचक हुने देखिएको छ ।

राष्ट्रिय राजनीतिकै ध्यान भने झापा–५ मा छ । 

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंको मेयरबाट राजिनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा घण्टी बजाउँदै झापा झरेका बालेन्द्र शाहको चुनावी प्रतिष्पर्धा सवैभन्दा नजिकबाट नियाल्न चाहनेको संख्या देशव्यापी छ ।

ओली र बालेनबीचको सम्भावित भिडन्तले राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्याइसकेको छ । अनुभवी र स्थापित ओलीविरुद्ध शहरी मतदाताको लोकप्रियतामा रमाइरहेका बालेनबीच यो चुनाव परम्परागत राजनीति र वैकल्पिक राजनीतिक सोचबीचको प्रत्यक्ष टकरावको थलो बनेको हो ।

ओलीको किल्लामा बालेनको चुनौती

प्रतिनिधिसभाको निर्वाचनमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध काठमाडौंका निवर्तमान मेयर बालेन शाह खडा भएको झापा ५ यतिबेला चर्चाको शिखरमा छ ।  मंगलबार यो क्षेत्रमा एकपछि अर्को र्याली र जुलुस निस्किए । 

स्थापित शक्ति र नयाँ राजनीतिक धारबीचको प्रत्यक्ष भिडन्तले झापा–५ लाई देशकै सबैभन्दा ‘हाइप्रोफाइल’ चुनावी मैदान बनाइदिएको छ । जहाँ कांग्रेसबाट मन्दरा पौडेल चिमरिया, नेकपाबाट रन्जित तामाङ, श्रम संस्कृतिबाट समिर तामाङ पनि चुनावी मैदानमा छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका काठमाडौं महानगरका निवर्तमान मेयर शाहको र्याली सबैभन्दा भव्य रह्यो । तर, र्यालीमा झापामात्र होइन, कोशीका विभिन्न जिल्लाबाट आएका सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

सहभागीमध्ये धेरैले आफूहरू उम्मेदवार हेर्न आएको भन्दै खुलस्त बोले । चुनावी नाराभन्दा पनि उत्सुकता र कौतुहलता बढी देखिन्थ्यो । 

एमाले अध्यक्ष ओलीले पनि शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गराएका छन् । त्यसक्रममा दमक चोकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडपसमेत भएको थियो । ओलीले रास्वपाले आफ्नो चरित्र देखाएको भन्दै झडप उनीहरुले निम्त्याएको आरोप लगाएका थिए । 

यही चुनावी माहोलबीच नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टी जिम्मेवारी र क्रियाशील सदस्यता त्याग्दै झापा–५ मा बालेन शाहलाई सघाउने घोषणा गरेका छन् । उनी कांग्रेसबाट उपमेयर जितेकी रेगिना भट्टराईका पति हुन् । प्रसाईं पहिले राप्रपा, एमाले हुँदै कांग्रेस भएका थिए ।

यस विषयमा दमक नगरपालिकाकी उपमेयर तथा प्रसाईंकी पत्नी रेगिना भट्टराईले भने निर्णय व्यक्तिगत भएको बताइन् । उनका अनुसार पार्टीभित्रको असन्तुष्टिले यो मोड आएको हो । आफूले रोक्न खोजे पनि राजनीतिक दबाब नदिन आग्रह गरेकाले मौन बसेको उनले बताइन् । 

त्यसो त झापा–५ मा बालेन उम्मेदवार बन्छन् भन्ने कुरा केही दिनअघिसम्म धेरैलाई हल्लाजस्तो लाग्दै आएको थियो ।

झापा ५ लाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले यहाँको चुनावलाई सधैं राष्ट्रिय राजनीतिसँग जोडेर हेरिन्छ । यसपटक बालेन शाह मैदानमा उत्रिएसँगै यो चासो चरम सीमामा पुगेको छ ।

यो क्षेत्र परम्परागत रूपमा एमालेको बलियो किल्ला मानिन्छ । ओलीले २०४८ देखि २०७९ सम्म छ पटक यही क्षेत्रबाट प्रतिनिधित्व गरिसकेका छन् । २०६४ मा मात्रै उनी पराजित भएका थिए ।

२०७९ को निर्वाचनमा ओलीले ५२ हजारभन्दा बढी मत ल्याएर ठूलो मतान्तरसहित जितेका थिए । त्यही निर्वाचनमा रास्वपा उम्मेदवार तेस्रो भए पनि समानुपातिकतर्फ रास्वपाले एमालेपछि दोस्रो ठूलो मत पाएको थियो । 

यसले पनि झापा–५ मा रास्वपाको आधार बलियो हुँदै गएको संकेत दिएको थियो ।

स्थानीयका अनुसार काठमाडौं महानगरको मेयर हुँदा बालेनले अपनाएको कडा र चर्चित कार्यशैलीले नयाँ पुस्तामा गहिरो प्रभाव पारेको छ । जेनजी पुस्तामाझ उनी विद्रोही छविका रूपमा लोकप्रिय छन् । 

रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको दाबीसहित अघि सारेको छ भने एमालेले ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेको छ ।

यसरी झापा–५ मा प्रधानमन्त्रीका दुई दाबेदारको प्रत्यक्ष भिडन्त हुन लागेको छ । दमकका युवा विपीन सुवेदी भन्छन् ‘हाम्रो क्षेत्रमा प्रधानमन्त्री बन्ने सपना देख्ने दुई जनाको भिडन्त हुनु आफैंमा ठूलो कुरा हो ।’

१ लाख ६३ हजारभन्दा बढी मतदाता रहेको झापा–५ मा यसपटकको चुनाव सहज नहुने आंकलन सर्वत्र छ । उम्मेदवारी दर्ता नहुँदै देखिएको उत्साह, समर्थन र आशंकाले पनि यही संकेत गरिरहेको छ । झापा–५ को चुनाव केवल स्थानीय प्रतिस्पर्धा नभई राष्ट्रिय राजनीतिक दिशाको ‘वेभ’ कता जान्छ भन्ने संकेत दिने क्षेत्र बन्ने पक्का भएको छ ।

सभामुख उपसभामुखको चाखलाग्दो भिडन्त

अर्को रोचक प्रतिष्पर्धा पनि झापामै देखिएको हो । झापा–३ मा पूर्वसभामुख र उपसभामुख आमने–सामने भएका छन् । केपी शर्मा ओली र बालेन शाहबीचको चुनावी भिडन्तले झापा–५ ले धेरैको ध्यान तानिरहेका बेला झापाकै अर्को क्षेत्र रोचक चुनावी प्रतिष्पर्धाको थलो बन्ने भएको छ । 

झापा–२ त्यस्तो क्षेत्र भएको छ, जहाँबाट विघटित प्रतिनिधिसभाका सभामुख, उपसभामुख र एक जना सदस्य गरी तीन जना आपसमा भिड्ने भएका छन् । 

झापा–२ मा सभामुख देवराज घिमिरेले एमालेबाट, उपसभामुख इन्दिरा रानाले रास्वपाबाट र विघटित प्रतिनिधिसभा सदस्य सरिता प्रसाईंले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् । 

उनीहरू तीन जना त भई नै गए, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाबाट पनि चर्चित अनुहार यहाँको चुनावी मैदानमा छन् । संविधानसभा सदस्य रहिसकेकी माओवादी नेतृ धर्मशीला चापागाईं नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेको यो क्षेत्रमा अघिल्लो निर्वाचनमा सभामुख घिमिरेका निकटतम प्रतिष्पर्धी भद्रप्रसाद नेपाल अर्थात् स्वागत नेपाल राप्रपाबाट उम्मेदवार बनेका छन् । 

२०७९ को निर्वाचनमा क्रस खुकुरी चिन्ह लिएर स्वतन्त्र उठेर दोस्रो बनेका नेपाल यसपटक राप्रपाबाट उम्मेदवार बनेका हुन् । 

विघटित प्रतिनिधिसभाका मुख्य दुई पदमा रहेका नेता, सदस्य पदमा रहेकी प्रसाईंको उम्मेदवारीले मात्रै होइन, प्रत्यक्ष रुपमा तीन जना चर्चित महिला नेताहरू एकै क्षेत्रमा उम्मेदवार बनेको ठाउँ पनि भएको छ झापा–२ । 

विघटित संसदमा उपसभामुख रहेकी राना र कांग्रेसकी प्रसाईं समानुपातिकबाट चुनिएका थिए । अनाथ बालबालिकाको क्षेत्रमा काम गरेर ख्याती आर्जन गरेकी रानालाई रास्वपाले संसद् पु¥याएको थियो । 

नेविसंघबाट राजनीति गरेर कांग्रेसमा स्थापित भइसकेकी प्रसाईं पनि समानुपातिक सूचीबाटै सदनमा पुगेकी थिइन् । यसपटक नेकपाबाट उम्मेदवार बनेकी धर्मशीला चापागाईंले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा झापा–४ मा कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलालाई पराजित गरेकी थिइन् । 

यसपटक नाताले उनै बाँस्तोलाकी भाञ्जीसमेत रहेकी कांग्रेसकी सरिता प्रसाईं पनि धर्मशीलाको एक जना प्रतिष्पर्धी बनेकी छन् । 

सभामुख देवराज घिमिरे एमाले अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् । लामो राजनीतिक योगदान र पृष्ठभूमि भएका उनलाई एमालेले सभामुख बनाएको थियो । 

२०७९ मा यही क्षेत्रबाट २८ हजार ७१६ मत पाएर उनले जीत हासिल गर्दा स्वतन्त्र उम्मेदवार बनेका स्वागत नेपालले २६ हजार ४५५ मत पाएका थिए । 

झापा–२ का राप्रपा उम्मेदवार नेपाल पत्रकारिता हुँदै वकालत पृष्ठभूमिका हुन् । २०६२–६३ को जनआन्दोलनताका राजाका विरुद्ध चर्को भाषामा लेख लेख्ने पत्रकार थिए नेपाल । 

राजा ज्ञानेन्द्रले हालका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई झापा जिविसको सभापति मनोनित गरेपछि नेपालले नेपाल समाचारपत्रमा ‘मेची क्याम्पसमा राम थापा सिमेन्टी भएछ’ शीर्षकमा लेख लेखेका थिए, जहाँ उनले राम थापाको हत्यामा लिङ्देन सहभागी भएको आरोप लगाएका थिए । 

२०४६ सालमा मेची क्याम्पसमा नेविसंघका विद्यार्थी राम थापा मारिएका थिए । त्यसको दोष तत्कालीन राष्ट्रवादी विद्यार्थी मण्डलका नेता लिङदेनहरूमाथि लागेको थियो । 

स्वागतले आफूले काम गर्ने अखबारमा त्यस्तो लेख लेखेपछि राजेन्द्र लिङ्देनले झापाको पूर्वाञ्चल दैनिकमा ‘के बुझ्छ स्वागत नेपाल’ भन्ने शीर्षकमा जवाफी लेख लेखेका थिए । 

यसरी एकअर्काविरुद्ध लेखालेख गर्ने उनीहरू अन्ततः एकै दलमा मात्रै होइन, लिङ्देनकै हातबाट टिकट लिएर चुनाव लड्ने निधोमा पुगेका छन् । 

झापाको चर्चित सहर बिर्तामोड, अर्जुनधारासहितको यो क्षेत्रमा यसपटक १ लाख ३४ हजार ९१ कूल मतदाता छन् । यही क्षेत्रबाट श्रम संस्कृति पार्टीले केशव भण्डारीलाई अघि सारेको छ । 

२०७० को निर्वाचनमा झापा–२ मा कांग्रेसका सुधीर शिवाकोटीले जितेको यो क्षेत्रमा २०७४ मा एमालेकी पवित्रा खरेलले जितेकी थिइन् । २०७९ मा भने गठबन्धन गर्दा कांग्रेस उम्मेदवारविहीन थियो । कांग्रेसले त्यसबेला माओवादीका हरि रानालाई सघाएको थियो । 

२०७९ मा समानुपातिकतर्फ एमाले नै यहाँ पहिलो भएको थियो । एमालेले २६ हजार ४९० मत पाउदा रास्वपाले दोस्रो धेरै मत पाएको थियो । उसले २२ हजार ५१७ मत पाएको थियो । 

कांग्रेसले १५ हजार ४९८, राप्रपाले ७ हजार ८ सय ८०, माओवादीले ३ हजार ८ सय ६९ र एकीकृत समाजवादीले १ हजार ६९ मत पाएको थियो ।

शेखर–विनोद आमनेसामने

सवैभन्दा धेरै ६ वटा निर्वाचन क्षेत्र मध्ये मोरङको क्षेत्र नम्बर ६ ले राजनीतिक अर्थमा रोचक भिडन्तको निकट छ । 

नेपाली कांग्रेसको भावी सभापतिदेखि भावी प्रधानमन्त्रीसम्मको लक्ष्य लिएर २०७९ को निर्वाचनमा मतदाताको विश्वास जितेका डा.शेखर कोइराला र एमालेको राजनीतिक बृत्तमा केपी शर्मा

ओलीलाई समेत चुनौती दिएर स्थापित भएका विनोद ढकालबीचको प्रतिष्पर्धा रोचक बन्ने भएको छ ।

कांग्रेसभित्रको एउटा वैचारिक धारको प्रतिनिधित्व गर्ने स्थापित शेखर कोइरालाका लागि त्यस्तै विद्रोही बैचारिक धारमा खुट्टा नकमाई उभिएका युवा नेता ढकालको उपस्थितिले यो क्षेत्रमा केवल दलगत मात्रै प्रतिष्पर्धा नहुने देखाएको छ । 

क्षेत्र नम्बर ६ मा दुवै नेताले विराटनगरलाई पुनः जागृत गर्नेदेखि जनताका समस्या समाधान गर्ने कुरालाई आफ्नो चुनावी ऐजेण्डा बनाएका छन् । 

वास्तवमा यहाँबाट धेरै नेताहरू जितेर जानुभयो, महत्वपूर्ण जिम्मेवारीमा पनि पुग्नुभयो’ तर मुलुकका अरु सहरको तुलनामा विराटनगर पछि परेको देखेनन्, ढकालले डा. शेखरप्रति लक्षित गर्दै भने, ‘यो प्रतिष्पर्धा मुख्यतया कांग्रेस र एमालेको बीचको हो, वहाँ (शेखर) अभिभावकको रुपमा हुनुहुन्छ, भावी प्रधामन्त्रीदेखि संसदीय दलको नेता, सभापतिसम्मको एजेण्डा स्थापित गरेर उहाँ विगतमा चुनाव लड्नुभयो, यो पटक चैं सभापति पनि गगन थापा भैसक्नुभयो, भावी प्रधानमन्त्री पनि गगन थापा भनेर आइसकेको छ, यो अवस्थामा कांग्रेसमा शेखर कोइराला चुनाव लड्न आउनुहुन्न होला भन्ने मेरो अपेक्षा थियो, तर उहाँ आउनु भएको छ, उहाँसँग मेरो स्वस्थ्य प्रतिष्पर्धा हुन्छ ।’

यता मनोनयन दर्तापछि सञ्चारकर्मीहरूको प्रश्नमा शेखरले पनि आफू राजनीति कुराभन्दा पनि चुनावी विषयमा रुची राखेको संकेत गरिरहेका थिए ।

उनी कांग्रेसभित्रको राजनीतिक विषयलाई पत्रकारहरूले नकारात्मक रुपमा उठान गरिरहेको भन्दै केही रिसाए पनि । डा. कोइरालाले बरु चुनावी प्रतिष्पर्धामा केन्द्रित हुन आग्रहसमेत गरे ।

‘मेरो प्राथमिकता स्कुल हो, स्कुलहरूलाई आधुनिक हिसावले अघि बढाउने, डिजिटल बनाउने, सडक र खानेपानी जस्ता आम जनताका समस्या नै प्राथमिकता हुन्’ डा.शेखरले भने, ‘विनोद ढकाल जी मेरो मित्रै हुनुहुन्छ । त्यसकारण कुनैपनि प्रतिष्पर्धीलाई हामीले कमजोर त ठान्नु भएन ।’

भगवती र विजय फेरि भिडे

सुनसरी–३ मा कांग्रेसका चुनावी खेलाडी विजयकुमार गच्छदार आफ्नो आठौं प्रतिष्पर्धाका लागि एमालेकी परिचित भगवती चौधरीसँग भिड्दैछन् । आफ्नो जितको श्रृंखलालाई २०७९ मा ब्रेक लगाइदिएकी चौधरीसँग गच्छदार पुनः यसपटक प्रतिष्पर्धामा उत्रिएका छन् ।

यो प्रतिष्पर्धाले सुनसरी–३ लाई फेरि राष्ट्रिय राजनीतिको चर्चाको केन्द्र बनाएको छ । त्यसै पनि चुनावसँग नडराउने छवि बनाएका गच्छदारले आफूलाई अघिल्लोपटक पराजित गर्ने चौधरीका विरुद्ध उतारेका हुन् । 

दुईबीचको प्रतिष्पर्धालाई राजनीतिक पुस्ताबीचको राजनीतिक प्रतिष्पर्धाका रुपमै लिने गरिएको छ । यसपटकको भिडन्तलाई मतदाताले कुन बाटोतिर छनोट गर्छन् भन्ने कुरा अर्थपूर्ण बनेको छ । 

गच्छदारले नाताले आफ्नै भतिजा पर्ने दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारलाई अन्तिम समयमा रोकेर भगवतीस“गको प्रतिष्पर्धा तय गरेका छन् । 

यता फरवार्ड माइक्रोफाइनान्सको सञ्जालबाट स्थानीयस्तरमा पुग्दै आएकी भगवती भने गच्छदारविरुद्धको जितलाई निरन्तरता दिनुपर्ने कठिन मोडमा पुग्ने छिन् । 

सुनसरीका ४ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर ३ बाहेक सवैमा उम्मेदवार छनोटमा विवाद भोगेको एमालेभित्र भगवती भने सुरक्षित रुपमा प्रतिष्पर्धामा छिन् । यो प्रतिष्पर्धाले कस्तो राजनीतिक मोड लिन्छ भन्ने हेर्न फागुन २१ नै कुर्नुपर्नेछ । 

दिलीप–मीनेन्द्रको तानातान

मोरङ–२ मा नेकपा एमालेका दिलीप बगडिया र नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालबीचको चुनावी भिडन्त नीति, विचार र संसदीय अनुभवको प्रतिस्पर्धाका रूपमा देखिएको छ । दुवै उम्मेदवारको फरक राजनीतिक पृष्ठभूमि र छविले यो निर्वाचन क्षेत्र पनि सर्वाधिक चासोको केन्द्र बनाएको छ ।

डा. रिजाल कांग्रेसका बौद्धिक र नीतिगत धारका चर्चित नेता मानिन्छन् । 

अर्थशास्त्रका जानकार रिजाल २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका नेता हुन् । उनी कांग्रेसमा मात्रै नभई राष्ट्रिय राजनीतिको केन्द्रमा विज्ञका रुपमा स्थापित छन् । 

बौद्धिक छवि र स्पष्ट अभिव्यक्तिले प्रभाव पार्नसक्ने क्षमताका विरुद्ध बलियो भौगोगिक पकट बनाइसकेका र क्षेत्र नम्बर २ भित्रै पर्ने रंगेली नगरपालिकामा अलग दुईवटा दलबाट लोकप्रिय मतसहित मेयर जितेका बगडियाको उपस्थितिले चुनावी चर्चा बटुल्ने भएको छ ।

बगडिया स्थानीय राजनीतिमा गहिरो पकड भएका नेताका साथै आफ्नो क्षेत्रको विकासका काममा जिउज्यान दिएर काम गर्ने अभियन्ताका रुपमा समेत स्थापित छन् । उनी लामो समयदेखि पार्टी संगठन, जनसम्पर्क र क्षेत्रीय मुद्दामा सक्रिय रहँदै भर्खरैमात्र सम्पन्न भएको एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भैसकेका छन् । 

उनी विकास, पूर्वाधार र रोजगारीका सवाललाई खरो गरी उठाउने अडिग नेताका रुपमा चिनिंदै आएका कारण डा. रिजालसँगको प्रतिष्पर्धाले क्षेत्र नं. २ लाई कोशी प्रदेशको समग्र चुनावी स्पर्धाभित्र आँखा लगाइराख्नुपर्ने क्षेत्रका रुपमा चिनाएको राजनीतिमा रुचि राख्नेहरू बताउँछन् ।

एउटै क्लष्टरमा शिवकुमार–योगेन्द्र

मोरङको क्षेत्र नम्बर ५ मा अहिलेको नेकपाका नेता शिवकुमार मण्डल र अघिल्लो पटक स्वतन्त्र उम्मेदवार बनेर सोही क्षेत्रबाट निर्वाचित योगेन्द्र मण्डलबीचको भिडन्त पनि रोचक बन्ने भएको छ । 

जीवन विकास समाजको स्थापनादेखि जीवन विकास लघुवित्त स्थापना गरेर सो क्षेत्रको सामाजिक र आर्थिक अवस्थितिमा पकड जमाएका योगेन्द्र र राजनीतिमा चतुर पकड जमाउन सक्ने शिवकुमारबीचको मुख्य प्रतिष्पर्धाको हद कस्तो हुन्छ भन्ने चर्चा पनि महत्वपूर्ण बन्दै गएको छ । 

फरक पृष्ठभूमिका तर एउटै जातीय क्लष्टरको प्रतिनिधित्व गर्ने यी दुई उम्मेदवारबीच हुन लागेको यो प्रतिष्पर्धा राजनीतिक वृत्तका लागि चासोपूर्ण बनेको हो । योगन्द्र आफ्नो क्षेत्रभित्र ठूलो संख्यामा स्थानीय समुदायलाई रोजगारी दिनेमा पर्दछन् । उनले आफ्नै पहलमा विद्यालयदेखि अस्पतालसम्म सञ्चालन गर्दै आएका छन् । जुन उनकै क्षेत्रभित्र रहेका छन् ।

अर्कोतर्फ, शिवकुमार पनि सीमावर्ती क्षेत्रको राजनीतिक संगठित विस्तार र पूर्वमाओवादी कालदेखिकै राजनीतिक चातुर्यता कारण बलिया प्रतिस्पर्धी मानिन्छन् । पछिल्लो पार्टी संगठनभित्र समेत पकड र वाककटुताको क्षमताका कारण उनी कार्यकर्ता परिचालनमा निकै संगठित नेतृत्वकर्ताका रुपमा रहेका छन् । 

दुईबीचको प्रतिष्पर्धाले मतदाताका सामू स्थानीय सामाजिक तथा आर्थिक सरोकारको एजेण्डा कि दलगत शक्ति र राजनीतिक अनुभवलाई रोज्ने भन्ने द्विविधामा पु¥याउने निश्चित छ । यसैकारण मोरङ–५ को यसपटकको प्रतिष्पर्धा परिणाम रोचक र चासोपूर्ण बनेको छ ।

एजेण्डामा अडिएका सुनिल–गणेश

मोरङको क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका डा. सुनिल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता गणेश कार्कीबीचको चुनावी भिडन्तलाई स्रोत साधनको प्रयोग वा दुरुपयोग र राजनीतिक प्रभावको टकरावका रूपमा हेरिएको छ ।

चिकित्सा क्षेत्रको स्रोतसाधनबाट सम्पन्न शर्मा र उदाउँदो वैकल्पिक राजनीतिको सक्षम प्रतिनिधिबीच यो प्रतिस्पर्धा निर्धारित छ । यसले क्षेत्र नम्बर ३ को राजनीतिक तापक्रम बढाएको छ ।

डा. शर्मा नोबेल मेडिकल कलेजका सञ्चालक हुन् । उनले अघिल्ला निर्वाचनहरूमा स्वास्थ्य उपचारलाई मुख्य एजेन्डा बनाउ“दै आएका छन् । आफ्नो क्षेत्रमा चुनावताका लगातार स्वास्थ्य शिविर सञ्चालन, नोबेल मेडिकल कलेजमार्फत निःशुल्क तथा सहुलियत उपचारको व्यवस्था गर्दै मतदाता फकाउने गरेका छन् । 

अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्न सफल भएका शर्मा कांग्रेसभित्र उदाएको वैकल्पिक युवा शक्ति निकट रहेका राजनीतिक अभियानमा संलग्न छन् । 

अर्कोतर्फ, रास्वपाका कार्की पार्टी स्थापनाकालदेखि नै सक्रिय र प्रभावशाली युवा नेताका रूपमा परिचित छन् । सुशासन, पारदर्शिता र पुरानो राजनीतिक अभ्यासको विकल्प खोज्ने स्पष्ट बक्ताको छवि भएका कार्की युवावर्ग र परिवर्तन चाहने मतदातामाझ आकर्षण बन्ने निश्चित देखिएको छ । साथै, अहिलेको राजनीतिक उभारमा रास्वपाप्रति देखिएको जनआकर्षणले कार्कीलाई बलियो प्रतिद्वन्द्वीका रुपमा शर्माले संघर्ष गर्नुपर्ने निश्चित देखिएको हो । 

मतदाताहरूलाई तत्कालिन सेवा–सुविधा र स्थापित व्यक्तिको राजनीतिक प्रभावमा रमाउने कि परिवर्तन र वैकल्पिक राजनीतिलाई अघि बढाएर मुलुक परिवर्तनको चाहना पूरा गर्ने भन्ने प्रश्नमा विभाजित गर्ने अनुमान गरिएको छ । यही कारण मोरङ–३ को यो भिडन्त रोचक र परिणाम अनिश्चित मानिएको छ ।

View : 266

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved