Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

'टपर ३१' विद्यार्थीलाई कान्तिपुर कलेजले दियो पूर्ण छात्रवृत्ति

उद्‌घोष संवाददाता
६ साउन २०८१, आइतवार

Advertisement

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई आइतबार स्वागत गर्दै ३१ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको घोषणा गरेको छ । कलेजमा यस शैक्षिक वर्षमा कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टमा कुल ९ सय २० जना विद्यार्थी भर्ना भएका हुन् ।

गुणस्तरीय शिक्षाको हब बन्दै गएको विराटनगरमा कान्तिपुर कलेजमा ठुलो संख्यामा विद्यार्थीहरू भर्ना भएसँगै कलेजले पनि विद्यार्थीहरूलाई छात्रवृत्तिमार्फत आकर्षण गरेको हो ।

नयाँ विद्यार्थी स्वागत कार्यक्रममा कलेजका प्रिन्सिपल भुवन नेपालले एसईई परीक्षामा विभिन्न विद्यालय टप गरेका र जीपीए ३ दशमलव ७५ भन्दा बढी ल्याएर कान्तिपुर कलेजमा भर्ना हुन आएका ३१ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको घोषणा गरे ।

‘हामीले ३१ वटा बिद्यालयका टपर विद्यार्थीहरू प्राप्त गरेका छौं, ३.७५ भन्दा माथि जीपीए ल्याएका विद्यार्थीहरूको रोजाइमा परेका छौं’ उनले भने, ‘उत्कृष्ट अंक ल्याएर कान्तिपुर कलेज रोज्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गर्दछौं ।’

कान्तिपुर कलेजमा यस वर्ष भर्ना भएका ९ सय २० जना विद्यार्थीहरूमध्ये विज्ञान संकायमा ३५०, व्यवस्थापनमा ४२० र होटल म्यानेजमेन्टमा १५० जना विद्यार्थी भर्ना भएको उनले जानकारी दिए ।  

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश कार्यालयका प्रमुख जीवन गड्तौलाले पढेर भविष्यमा केही गर्छु भन्ने अठोटका साथ आएका विद्यार्थीलाई कलेजले राम्रो बाटो देखाउनुपर्ने बताए । उनले जीपीएकै आधारमा मात्रै विद्यार्थीहरूको मुल्यांकन गर्न नहुने धारणा राखे । 

प्याब्सन मोरङका अध्यक्ष प्रेम सुवालले कलेजका सबै सञ्चालकहरूको दृढ संकल्पले मात्रै शिक्षा क्षेत्र अघि बढ्ने बताए । उनले कलेजले आगामी दिनमा अझ प्रगति गर्दै जानेमा आफू पनि विश्वस्त रहेको बताए ।

कान्तिपुर कलेजले विराटनगरको शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आएको सञ्चालकहरूले बताए । सोही क्रममा उक्त कलेजमा अध्ययन गरेका विद्यार्थीहरूले विगत तीन वर्षदेखि एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्ने विद्यार्थीहरूको संख्या बढ्दै गएको दाबी गरे । 

कलेजलाई अघि बढाउन अनुभवी शिक्षक शिक्षिकाहरूको साथ रहेको भन्दै विद्यार्थीहरूलाई पनि लगनशील र अनुशासित भएर पढ्नका लागि अभिप्रेरित गरिने उनीहरूले बताए ।

कार्यक्रमका कलेजका सञ्चालकहरू विष्णु दाहाल, प्राडा तेजनारायण मण्डल, डा. जनक अधिकारीलगायतले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।

कलेज २०७२ सालयता कान्तिपुर कलेजको रुपमा १५ जनाको सञ्चालक समूहले व्यवस्थापन गरिरहेको शैक्षिक संस्था रहेको जनाइएको छ ।

View : 527

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved