विराटनगर । पार्टी संस्थापन पक्षको यथास्थितिवादवि रूद्ध विद्रोह बोलेर नेपाली कांग्रेसका कार्यकर्ता नवीन इतिहास निर्माणतिर अग्रसर बनेका छन् ।
पार्टी सत्ताको आडमा केन्द्रीय समिति कब्जा गरेर बसेको संस्थापन पक्षको उर्दी लत्याएर देशभरीका बहुमतभन्दा धेरै महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी बनेका छन् ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताह रूले महाधिवेशनको बन्दसत्रले जे फैसला गर्छ, सोही अनुसार कांग्रेस अघि बढ्ने बताएर नेतृत्व फेर्ने संकेत गरेका छन् ।
आइतबार विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्ने बहुसंख्यक नेताहरूले पार्टीलाई निरन्तर सत्ता चढ्ने भर्याङमा सीमित गर्न खोजेको बताएर पार्टीमा रूपान्तरण अत्यावश्यक भएको घोषणा गरेका छन् ।
यसले नेतृत्वप्रति बढ्दो असन्तोष अब संगठित रूपमै विस्फोट भएको देखिएको छ ।
कांग्रेस विद्रोहको ठोस अभिव्यक्ति दोस्रो विशेष महाधिवेशनमार्फत देखिएको छ ।
अब सोमबार सुरू हुने बन्दसत्रले पार्टीको भविष्यको दिशा मात्रै होइन, नेतृत्व र संरचनामै आमूल परिवर्तन गर्ने कि नगर्ने भन्ने अन्तिम फैसला गर्नेछ ।
यही कारण यो महाधिवेशनलाई कार्यकर्ताहरूले ‘इतिहास बनाउने अवसर’ का रूपमा लिएका छन् । विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको सहभागिता आफैंमा विद्रोहको सशक्त संकेत बनेको छ ।
सचिवालयका अनुसार आइतबार साँझसम्म ६२.४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् ।
देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि छन् । तीमध्ये २ हजार ९ सयभन्दा बढीले उपस्थिति जनाएका छन् । यो संख्या सोमबार अझै बढ्ने सहभागीहरूले बताइरहेका छन् ।
‘आज ज्यादै लामो लाइन भएकाले सबैको दर्ता सम्भव भएन, सोमबार पनि दर्ता प्रक्रिया जारी रहनेछ’, व्यवस्थापन सचिवालयका प्रमुख मनोजमणि आचार्यले भने ।
गएको असोज २९मा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए ।
कांग्रेस विधानको दफा १७ (२) अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नैपर्ने व्यवस्था छ ।
तर संस्थापन पक्षले बेवास्ता गरेपछि विधानको यही प्रावधान टेकेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको हो ।
उद्घाटन सत्रमा महामन्त्री थापाले पार्टीको मौलिक चरित्रमाथि जोड दिदै कांग्रेस दास र लासहरूको होइन, जिउँदो विवेक भएका मानिसहरूको पार्टी भएको स्पष्ट सन्देश दिए ।
उनले भदौ २३ र २४ मा देखिएको ‘जेन–जी आन्दोलन’ केवल युवाको आवेग नभई देशभर फैलिएको आम नागरिकको आक्रोशको प्रतिबिम्ब भएको उल्लेख गरे । थापाले गणतन्त्र स्थापना गरिसकेपछि पनि ‘नेपो बेबी’ हरूको शासन देखेर जनता आक्रोशित भएको बताए ।
‘सरकार, संसद र समग्र राजनीतिक प्रणालीप्रति जनताको असन्तुष्टि रह्यो । यो कांग्रेससँग व्यक्तिगत नभई भ्रष्टाचार र कुशासनविरूद्ध थियो,’ उनले भने ।
उनले पछिल्लो समय यति ठूलो जनसहभागिता र चासो आफूले कुनै पनि राजनीतिक कार्यक्रममा नदेखेको भन्दै यसलाई चेतावनीका रूपमा लिनुपर्ने बताए ।
विशेष महाधिवेशनको सबैभन्दा निर्णायक चरण सोमबार बिहान ८ बजेदेखि सुरू हुने बन्दसत्र हो ।
बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन र गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।यी प्रतिवेदनहरू संस्थापनको यथास्थितिवाद तोड्ने स्पष्ट खाकाका रूपमा हेरिएका छन् ।
सांगठनिक प्रतिवेदनमा केन्द्रदेखि वडासम्म जेन–जी पुस्ताको सुनिश्चित प्रतिनिधित्वको प्रस्ताव गरिएको छ ।
केन्द्रीय समितिमा ३० वर्षमुनिका २० जना र ३० देखि ४० वर्ष उमेर समूहका २० जना अनिवार्य प्रतिनिधित्व गराउने प्रस्ताव छ ।
प्रदेश समितिमा १०–१०, जिल्लामा ६–६ र वडामा ४–४ जनाको युवा सहभागिता सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसैगरी कार्यकारी पदमा सीमित कार्यकालको व्यवस्था पनि प्रतिवेदनमा समेटिएको छ ।
एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्रै सांसद हुन पाउने प्रस्ताव पुनः अघि सारिएको छ ।
प्रतिवेदनमा विभिन्न पेशा, व्यवसाय र बौद्धिक क्षेत्रका व्यक्तिलाई ‘ल्याट्रल इन्ट्री’ मार्फत पार्टी संरचनामा ल्याउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
साथै विदेशस्थित जनसम्पर्क समितिहरूलाई समेटेर अन्तर्राष्ट्रिय संरचना बनाउने, प्रत्येक देशका वर्तमान तथा पूर्व अध्यक्षलाई अन्तर्राष्ट्रिय परिषद् सदस्य बनाउने र २७ सदस्यीय अन्तर्राष्ट्रिय जनसम्पर्क समिति गठन गर्ने खाका पनि समावेश गरिएको छ ।
महामन्त्री थापाले उद्घाटन समारोहमै यो महाधिवेशन नाम मात्रको विशेष नभई परिणामले पनि विशेष बनाउनुपर्ने बताएका थिए ।
उनले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमेत सहभागी होउन् भन्ने चाहना व्यक्त गर्दै अन्तिम निर्णय प्रतिनिधिहरूकै हातमा रहेको स्पष्ट पारे ।
‘कहिलेकाहीं युद्ध हार्न तयार हुनुपर्छ, कहिलेकाहीं आगो बाल्न आफू डढ्न पनि तयार हुनुपर्छ’ भन्दै थापाले कांग्रेसलाई ठीक ठाउँमा उभ्याउन आफूहरू कुनै पनि मूल्य चुकाउन तयार रहेको सन्देश दिए ।
कांग्रेस सही ठाउँमा उभिंदा मात्रै देशप्रतिको जिम्मेवारी पूरा गर्न सकिने उनको भनाइ छ ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले ३४ वर्षमा ३० वटा सरकार बनाउँदा सन्तुष्टि प्रधानमन्त्री बन्नेहरूलाई मिलेको तर जनतालाई नमिलेको भन्दै अब नागरिक केन्द्रित कांग्रेस बनाउने अभियान सुरू गरिएको बताएका थिए ।
उनले जेनजी आन्दोलनमा देखिएका अनुहारहरू अन्तरिक्षबाट नआएको बताए ।
‘जेनजीप्रति नकरात्मक बन्न जरूरी छैन । जेनजी अन्तरिक्षबाट आएका थिएनन् । जेजनी हाम्रै काखमा हुर्किएका भाइबहिनी थिए । हाम्रै आँगनमा हुर्किएका काखमा हुर्के बढेका छोराछोरी थिए । भदौ २३ मा इतिहासमै ठूलो भूल भएकै हो । त्यो रात र कयौं रात हामी निदाउन सकेनौं’ उनले भने ।
महामन्त्री शर्माले विशेष महाधिवेशनको बन्द सत्रले गर्ने फैसला नै अबको कांग्रेस हुने बताएर नीति र नेतृत्व दुवै फेर्ने प्रष्ट संकेत गरेका छन् ।
View : 112
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved