विराटनगर । लामो खडेरीको चोटमा मह्लम बनेर वर्षिरहेको झरीले सोमबार बिहानैदेखि विराटनगरलाई शीतल बनाएको थियो । घरी सिमसिम अनि घरी दर्के पानीको लुकामारी चलिरहेकै बेला कृतिराज गिरी परिवारका सदस्यहरूसँग बिहानै अष्टचिरञ्जीवी मन्दिर पुगे ।
विराटनगर–८ मा रहेको मन्दिरमा उनले परिवारका अरू सदस्यसँगै पूजाआजा गरे ।
मन्दिरमा पूजाअर्चना गर्दा उनले भगवानसँग आभार प्रकट गरे । उनका सन्ततिले पनि सदा झैं ईश्वरप्रति कृतज्ञता जाहेर गरे अनि परिवारका सबैभन्दा शीर बनेर रहेका उनको अझ दीर्घायूको कामना गरे ।
‘हाम्रा हजुरबुबा आजबाट १०७ वर्ष पूरा गरेर १०८ औं वर्ष प्रवेश गर्नुभयो’, उनका नाति बलराम गिरीले कामना गरे ‘उहाँको आशीर्वाद यसरी नै अझै धेरै वर्ष पाइरहुँ ।’
विराटनगर–५ पृथ्वी टोलका कृतिराज सोमबारबाट १०८ औं वर्षमा प्रवेश गरेको क्षण गिरी परिवार, छिमेकी र समाजकै लागि विशेष अवसर बन्यो । त्यसैले दशनामी समाज मोरङले उनलाई सम्मान गर्यो ।
गिरीको दीर्घ जीवनको कामना गर्दै दशनामी समाजका केन्द्रीय सल्लाहकार टेकबहादुर गिरी, मोरङ अध्यक्ष मोहनचन्द्र गिरीलगायतले उनलाई माला, दोसल्ला ओढाएर सम्मान गरिरहदा कृतिराजको अनुहार आफ्ना भाइछोराप्रति कृतज्ञ देखिन्थ्यो ।
मुसुक्क मुस्कुराएर यी शताब्दी पुरूषले आफ्ना अनुजलाई आशीर्वाद प्रदान गरे ।
‘तिमीहरूको सधैं राम्रो होस् बाबु’, उनको यो वचन उपस्थित अनुजहरूका निम्ति ईश्वरीय आशीर्वाद जस्तो बन्यो ।
‘यतिको दीर्घजीवन पाएँ, छोराछोरी, नातिनातिनाबाट पनि उत्तिकै राम्रो हेरचाह पाएको छु’ उनी कृतज्ञ सुनिए ।
नेपाली मात्रै होइन, विश्वका धेरै समाजमा ज्येष्ठ नागरिकलाई उच्च सम्मान दिइन्छ ।
अझ सनातन हिन्दू धर्मप्रति आस्थावानहरू पाका नागरिक र बालबच्चालाई साक्षात ईश्वरको रूपमा मान्ने गर्छन् ।
१०८ वर्षमा प्रवेश गरेका उनै कृतिराज लगभग त्यही आसन सरहको सम्मान ग्रहण गर्न पाउने भाग्यमानी सावित भएका छन् । सरकारी अभिलेखलाई आधार मान्ने हो भने कृतिराज सोमबारबाट ११८ वर्ष लागिसकेका छन् ।
नेपाली नागरिकताको प्रमाणपत्र बनाउने बेलामा सरकारी कर्मचारीले उनको उमेर १० वर्ष बढाइदिएकाले सरकारी अभिलेखमा उनी ११८ वर्षका देखिन्छन् ।
वि सं १९७५ साल साउन १९ मा खोटाङ हालको दिप्रुङ चुईचुम्मामा जन्मिएका थिए उनी । तर, नागरिकतामा भने ठ्याक्कै १० वर्ष बढी अर्थात १९६५ साल साउन १९ उल्लेख छ ।
२०७८ को राष्ट्रिय जनगणना अनुसार नेपालीको औषत आयु ७१ वर्षभन्दा केही बढी छ । गिरीले पार गरेको जीवनयात्रा नेपालीको औषत आयुभन्दा ३७ वर्ष बढी छ ।
अहिले पनि उनी ठमठकी हिड्न सक्छन् ।
नुहाउनेदेखि आफ्ना अन्य नित्यकर्म आफै गर्न सक्छन् । पाको उमेरजन्य कमजोरीबाहेक अरू कुनै रोग छैन ।
‘मैले जानेबुझेदेखि हजुरबुबाले आफ्नो दैनिकी कठोर शारीरिक परिश्रम र उस्तै कठोर अनुशासनमा बिताउनुभएको छ’, अहिले ४४ वर्ष पुगेका उनका नाति बलरामले उद्घोषलाई भने ‘उहाँको त्यही परिश्रम र अनुशासित जीवनशैलीले यस्तो स्वस्थ र दीर्घजीवन सम्भव भएको हो ।’ बलराम एमाले महानगर कमिटीका अध्यक्षसमेत हुन् ।
विसं २०१९ सालमा खोटाङबाट मोरङको कसेनीमा बसाइ सरेर आएको गिरी परिवारका मियो कृतिराज अहिले पनि सक्रिय जीवन बिताइरहेका छन् ।
हरेक दिन बिहान ५ देखि साढे ५ बजे उठिसक्ने उनी नित्यकर्म सकेर साढे ६ देखि ७ बजेभित्र कहिले जौको चिउरा (ओट्स) दूध, कहिले दूध र बिस्कुट खान्छन् । त्यसपछि घरबाट बाहिर निस्कने उनी हिंडडुल गर्ने, छरछिमेकीसित गफिने गर्छन् ।
बिहान ९ देखि १० बजेभित्र आफै दालभात र तरकारी खाने उनी त्यसपछि केही घण्टा आराम गर्छन् । दिउँसो खाजा खाने, पात्रो हेर्ने उनी रेडियो सुनेर रमाउँछन् ।
‘रेडियो हजुरबुबाको अभिन्न साथी हो’ बलरामले सुनाए ‘त्यसबाहेक छोराछोरी, हामी नातिनातिनाहरूसित रमाएर गफिन उहाँ मनपराउनु हुन्छ । हजुरबुबा कति कडा भने, ८४ पूजा गर्दासम्म पनि हामीलाई लखेटेर पिट्न सक्नुहुन्थ्यो ।’
उनका अनुसार कृतिराजलाई मनपर्ने खाजामा पर्छ समोसा । त्यसैले कहिलेकाही समोसा पनि खान्छन् ।
चार वर्ष यता कान्छा छोराबुहारी, नातिसँगै बस्दै आएका उनलाई ताजा फलफूलको जुस, दूध, केरा पनि मनपर्ने खाजा हो ।
दुई जना श्रीमतीको निधन भइसकेका उनका ४ छोरा र ४ छोरीसहित ३४ नाति २७ पनाति तथा जनातिसमेत गरी १११ जना सन्तति छन् । ती सबै जिवितै रहेको गिरी परिवारले जनाएको छ ।
कृतिराजको कुनै अम्मल छैन । २०३५ सालसम्म कुनै बेला माछामासु खाने उनी २०३५ यता भने शाकाहारी भोजन लिन्छन् । उनको स्वस्थ दीर्घजीवन यही शाकाहारी भोजन पनि भएको परिवारका सदस्य बताउँछन् ।
अचेल आँखाको दृष्टि मधुरो हुँदै गएको छ । कानले पनि कम सुन्न थालेको छ । यद्यपि पात्रो हेरिरहनु र रेडियो सुनिरहनु उनको धेरै रूचिको विषय हो ।
विराटनगर महानगरपालिकाका अनुसार महानगर क्षेत्रभित्र १ सय वर्ष नाघेका २२ जना ज्येष्ठ नागरिक छन् ।
View : 400
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved