Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बालसुधार गृहमा तोडफोड, दुई प्रहरी घाइते

उद्‌घोष संवाददाता
२९ साउन २०८२, बिहिवार

विराटनगर । विराटनगर–३ स्थित बालसुधार गृहमा बुधबार दिउँसो एक्कासी झडप भयो । झडपको निकैबेरपछि मात्रै प्रहरीले सुधारगृह नियन्त्रणमा लिएको थियो । 

२४९ जना बाल बिज्याइँकर्ता रहेको सुधारगृहमा के कारणले झडप भयो भन्ने खुल्न सकेको छैन । सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुमाथि उनीहरुले आक्रमण गरेका छन् । सोही क्रममा तोडफोड समेत भएको थियो ।

यद्यपि सुधार गृह स्रोतले भने प्रहरीकै कारण झडप भएको बताएको छ । प्रहरीले सुधारगृह भित्र खानतलासी गर्ने क्रममा झडप भएको केही बालबिज्याइँकर्ताले बताएको स्रोतको भनाइ छ ।

झडप नियन्त्रणका क्रममा दुई जना प्रहरी घाइते भएको मोरङ प्रहरीले जानकारी दिएको छ । 

प्रहरी सहायक निरीक्षक शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरणकुमार मण्डल घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । 

सुधारगृहमा दोहोरो झडप भएको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी हस्तबहादुर सुनार नेतृत्वको टोली घटनास्थल पुगेको थियो । 

वडा प्रहरी कार्यालय विराटनगरलगायतका विभिन्न प्रहरी युनिटबाट पनि प्रहरी परिचालन गरिएको थियो । 

सुधारगृहमा परिचालित प्रहरीले सुधारगृहलाई आफ्नो नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको एसपी चिमरियाले बताए ।

उनका अनुसार झडप सुरू हुनसाथ १२०–१३० जनाजति बाल बिज्याइँकर्ताहरू मुख्य द्वार तोडेर बाहिर निस्किएका थिए ।

बाहिर निस्किएर भाग्न खोजेकाहरूलाई सुधारगृहमा खटिएको प्रहरी टोलीले घेरा हालेर सुधारगृहभित्रै पु¥याएको थियो । 

‘सुरक्षा सावधानीका कारण बाल बिज्याइँकर्ताहरू भाग्न पाएनन्’ प्रहरीले भनेको छ ।

विभिन्न अपराधमा संलग्न भएका १८ वर्षमुनिका बालबालिकालाई अदालतको आदेश र फैसला अनुसार सुधारगृहमा राख्ने गरिएको छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएका र कसुरदार ठहर गरेका बालकहरूलाई त्यहाँ राख्ने गरिएको हो ।

View : 448

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved