Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

परशुराम जन्मोत्सव भव्यरुपमा सम्पन्न

उद्‌घोष संवाददाता
२१ वैशाख २०८२, आइतवार

विराटनगर । नेपाल मारवाडी ब्राह्मण समाजले  शनिबार विराटनगरमा भगवान श्री परशुराम जन्मोत्सव  विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । 

कार्यक्रमको विशेष समारोहलाई सम्बोधन गर्दै श्री शंकराचार्यपीठ वेदवेदांग संस्कृत पाठशाला कामदा गौशाला साधुटार झापाका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले भगवान परशुरामको ऐतिहासिक योगदानबारे चर्चा गर्दै युवापुस्तालाई धर्म, संस्कार र सामाजिक उत्तरदायित्व प्रति प्रेरणा मिलोस् भन्ने धारणा व्यक्त गरेका थिए ।  

सो अवसरमा नेपाल मारवाडी ब्राह्मण युवा मञ्चको संयोजकत्वमा रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा जाँच शिविर आयोजना गरिएको थियो । 

शिविरमा तीन सय आठ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए । 

समारोहमा समाजका विशिष्ठ प्रतिभाहरुलाई सम्मान तथा अभिनन्दन पनि गरिएको थियो । जसमा समाजसेवी कृष्णकुमार शर्मा, ज्येष्ठ नागरिक रामकुमार शर्मा, रामेश्वरीदेवी शर्मा, मनोहरिदेवी शर्मा, सुश्री डा पूजा शर्मा, सुश्री कृतिका शर्मा (एमबीए) पर्वातारोही जयकुमार शर्मालगायतलाई सम्मान गरिएको थियो । 

त्यसैगरी, नेपाल मारवाडी ब्राह्मण महिला मञ्चको संयोजनमा भगवान परशुरामको जीवन दर्शन झल्काउने विविध नृत्य तथा संगीत प्रस्तुत गरिएको थियो । 

सो अवसरमा समाजसेवी फूलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष भीखमचन्द सरल, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी राष्ट्रिय अध्यक्ष निर्मला जोशी, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्दप्रसाद झुनझुनवाला, माहेश्वरी समाजका अध्यक्ष घनश्याम काबरा, अग्रवाल समाजका अध्यक्ष राजकुमार अग्रवाल, जैन श्वेताम्बर तेरापन्थी सभाका अध्यक्ष सतीश दुगड, तथा समाजका पूर्वअध्यक्षहरूसहित अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समारोहको अध्यक्षता ब्राम्हण समाजका अध्यक्ष सुशीलकुमार जोशीले गरेका थिए भने समापन सचिव मनोजकुमार शर्माले गरेका थिए ।

कार्यक्रममा सामुहिक भोजन प्रसादको सौजन्यकता विजय, अजय, रजनीश, पंकज मिश्रा परिवारबाट भएको थियो । 

समाजका सम्पूर्ण मूल, महिला, युवा, कार्यकारिणीको अथक प्रयासले कार्यक्रम सफल भएको समाजका महासचिव शिवरतन शर्मा (जोशी) ले जानकारी दिए ।

View : 496

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved